पोखरा । सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दामा पक्राउ परेर अनुसन्धानका क्रममा रहेका रास्वपा सभापति रवि लामिछानेलाई सोमबार करिब साढे ८ घण्टा बयान लिइएको छ । सरकारी वकिलको कार्यालयमा प्रहरीले उनीसँग लामो बयान लिएको हो ।
बिहान साढे ११ बजेतिर सरकारी वकिलको कार्यालयमा प्रवेश गराइएका रविलाई पौने ८ बजे राती मात्रै निकालिएको छ । उनलाई सरकारी वकिलको कार्यालयबाट जिल्ला प्रहरी कार्यालयमा लगिएको हो । रविको बयानबारे थाहा पाएर त्यहाँ पुगेका उनका समर्थकहरू भने रविको बारेमा कुनै जानकारी नदिइएको भन्दै प्रहरीसँग रुष्ट बनेका छन् ।
‘लामो समयदेखि हामी यहाँ छौँ । प्रहरीले सामान्य जानकारी पनि दिएन,’ उनीहरुले भने, ‘बयान सकिएको हो कि होइन, अब के हुन्छ भन्ने सामान्य जानकारी पनि दिइएको छैन । यो गलत हो ।’ रविलाई जिल्ला अदालतले दोस्रो पटक ७ दिनको म्याद थप गरेको छ । उनको म्याद १४ गते सकिनेछ ।
तर १५ गतेदेखि नै तिहार बिदा हुने भएकाले उनलाई २० गते मात्रै अदालत उपस्थित गराउने बताइएको छ । लामिछानेलाई कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरेर पोखरा ल्याइएको हो । रास्वपाले उनको समर्थनमा पोखरामा झण्डै १ साता प्रदर्शन गरेको थियो । यसैबीच रास्वपाले भोलि मंगलबार काठमाडौंको बालुवाटार लक्षित प्रदर्शन गर्ने भएको छ । पार्टीका उपसभापति डीपी अर्यालले एक सूचना जारी गर्दै आन्दोलनमा सहभागी हुन आह्वान गरेका छन् । उनले प्रहरीबाट भाग्ने, प्रमाण नष्ट गर्ने या थप अपराध गर्ने कुनै आधार नहुँदा पनि राजनीतिक प्रतिशोधको आधारमा कारागारमा राखिएको भन्दै यस्तो कार्य तत्काल रोक्नका लागि दबाब सिर्जना गर्ने उद्देश्यल प्रदर्शन गर्न लागिएको बताएका छन् ।
प्रतिक्रिया