रविलाई थपियो ७ दिनको म्याद, शुक्रबार माईतीघर मण्डलामा प्रदर्शन गर्ने रास्वपाको तयारी

रविलाई थपियो ७ दिनको म्याद, शुक्रबार माईतीघर मण्डलामा प्रदर्शन गर्ने रास्वपाको तयारी



पोखरा । सहकारी ठगी र संगठित अपराध कसुरमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।

जिल्ला अदालत कास्कीले बिहीबार सात दिन म्याद थप गरेको हो।

न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेलाई थप सोधपुछका लागि समय थपेको हो । यसअघि अदालतबाट ६ दिनको म्याद लिएर लामिछानेमाथि अनुसन्धान गरिएको थियो। सरकार मर्यो, हामीलाई जुठो पर्यो भनेका रविलाई १३ दिन नै थुनामा राख्ने निर्णय अहिलेसम्म भएको छ ।

गत शुक्रबार केन्द्रीय कार्यालय चमतिबाट लामिछाने पक्राउ परेका थिए। लगत्तै उनलाई पोखरा लगिएको थियो । सभापति लामिछाने पक्राउ भएदेखि नै रास्वपाले पोखराकेन्द्रित आन्दोलन तथा प्रदर्शन गर्दै आएको छ। पार्टीले अब काठमाडौंकेन्द्रित आन्दोलन गर्ने तयारी गरेको छ।

सभापति लामिछानेमाथि सहकारी बचत रकम अपचलनमा संलग्न देखिएको भन्दै संसदीय छानबिन विशेष समितिले कारबाही सिफारिस गरेको थियो। यसैबीच, रास्वपाले अब पोखराबाट आन्दोलनलाई काठमाडौंमा केन्द्रित गर्ने भएको छ । शुक्रबार माईतीघर मण्डलामा प्रदर्शन गर्ने उसको तयारी छ ।