आज रवि लामिछाने र छवि जोशीलाई म्याद थपका लागि अदालत लगिँदै, बाटोमा नारा जुलुस

आज रवि लामिछाने र छवि जोशीलाई म्याद थपका लागि अदालत लगिँदै, बाटोमा नारा जुलुस



लेखनाथ । पूर्व गृहमन्त्री रवि लामिछाने र पूर्व प्रहरी नायब महानिरीक्षक छविलाल जोशीलाई म्याद थपका लागि आज कास्की जिल्ला अदालत लगिँदै छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहनुभएका लामिछाने र जोशीलाई पोखराको सूर्यदर्शन सहकारीको रकम गोरखा मिडियामा अवैधानिक रूपमा लगी ठगीमा संलग्न भएको आरोप छ ।

उहाँहरू दुवै गोरखा मिडिया प्रालिका पूर्व सञ्चालक हुनुहुन्छ । गोरखा मिडियामा पोखराको सूर्यदर्शनसहित देशका विभिन्न सहकारीबाट ६५ करोड रकम अवैधानिक रूपमा गएको संसदीय समितिको प्रतिवेदनमा उल्लेख छ । सूर्यदर्शनको मात्रै पाँच करोड ५८ लाख रकम गोरखा मिडियामा गएको विभिन्न प्रतिवेदनले देखाएका छन् ।

जिल्ला न्यायाधिवक्ता कमला काफ्ले लामिछानेसँग सम्बन्धित मुद्दामा कागज मगाउने, प्रमाण जुटाउने काम भइरहेको उल्लेख गर्नुभयो । कात्तिक २ गते शुक्रवार काठमाडौँबाट पक्राउ गरी कास्की ल्याइनुभएका लामिछानेसँग आइतबारबाट बयान लिन थालिएको हो ।

सूर्यदर्शनका अर्का सञ्चालक छविलाल जोशीलाई गएको असोज ६ गते काठमाडौँबाट पक्राउ गरी पोखरा ल्याइएको थियो । विदेश भाग्ने तयारी गरेको सुइको पाएपछि जोशीलाई पक्राउ गरी प्रहरीले कास्की ल्याएको थियो । जोशीलाई रुपन्देही प्रहरीले त्यहाँ अर्को सहकारी ठगी प्रकरणमा अनुसन्धान गरी बुधवारै कास्की ल्याइएको छ ।

सूर्यदर्शनमा १८ हजार सात सय बचतकर्ताको एक अर्ब ३५ करोड रकम हिनामिना भएको छ । लामिछाने पक्राउ भएपछि पोखरामा रास्वपा र सहकारी पीडितले दैनिक जसो प्रदर्शन गरिरहेका छन् । सहकारी पीडितहरूले रास्वपा नेता, कार्यकर्ताले पीडितलाई घर घरै पुगेर धम्क्याएकोसमेत आरोप लगाएका छन् ।

बिहीबार उहाँहरूलाई म्याद थप्न लाने दिन दुवै पक्ष प्रदर्शनको तयारीमा छन् । रास्वपाले जिल्ला प्रशासन र कास्की अदालतको नजिकै रहेको वाईचोकमा प्रदर्शन गर्ने तयारी गरेको छ । रास्वपा गण्डकी सभापति राजन गौतम आज वाइचोकमा शान्तिपूर्ण प्रदर्शन गर्ने बताउनुहुन्छ ।

यता, सूर्यदर्शन सहकारीका पीडितहरूले मुस्ताङचोकम प्रदर्शनको तयारी गरेका छन् । निष्पक्ष छानबिन र बचत फिर्ता माग गर्दै प्रदर्शन गर्न लागिएको सङ्घर्ष समिति संयोजक किरण श्रेष्ठले उल्लेख गर्नुभयो ।