जनप्रगतिशील मञ्चद्वारा भिक्टोरियाका नयाँ वाणिज्यदूतलाई स्वागत र महावाणिज्यदूतको बिदाई

जनप्रगतिशील मञ्चद्वारा भिक्टोरियाका नयाँ वाणिज्यदूतलाई स्वागत र महावाणिज्यदूतको बिदाई



मेलबर्न, अष्ट्रेलिया । नेकपा माओवादी केन्द्र निकट प्रवासी संस्था नेपाल जनप्रगतिशिल मञ्चको भिक्टोरिया शाखाले चाडपर्व लक्षित शुभकामना अदानप्रदान सम्पन्न गरेको छ । कार्यक्रममा भिक्टोरियाका लागि नेपाली अवैतनिक महावाणिज्यदूत चन्द्र योन्जनलाई उनको १६ वर्षीय सेवाका लागि धन्यवाद र बिदाई तथा नयाँ आएका वाणिज्यदुत निराजन गौलीलाई स्वागत र शुभकामना दिइएको थियो । स्थानीय ब्रन्सविकमा आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा बागमती प्रदेशका पूर्वमन्त्री एवं माओवादीका केन्द्रीय सदस्य युवराज दुलाल उपस्थित थिए । यस्तै नेकपा माओवादी वागमती प्रदेशका प्रमुख सचेतक रहेका रत्न ढकालले पनि दशैं, तिहार, छठ र नेपाल सम्वत नयाँ वर्षको शुभकामना दिँदै आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा बोल्दै पूर्वमन्त्री दुलालले नेपालमा सबै खत्तम भइसक्यो भन्ने भाष्य सही नभएको बताए । उनले धेरै क्षेत्रमा काम भइरहेको र परिवर्तनपछि यसको गति तिव्र रहेको जानकारी दिए । युवा विदेश गए भन्ने भाष्यले निरासा उत्पन्न गराएको र वास्तविकतामा अवसरको खोजीमा जहिल्यै मानिसहरु विभिन्न ठाउँमा जाने गरेको उनले बताएका थिए । आफुहरु नेपालको सकारात्मक कुरा बताउन र विदेशमा रहेको नेपाली समूदायले गरेको प्रगति हेर्न आएको उनको भनाई थियो । तर, नेपालमा नेताहरु विदेश गए किन विदेश गएको भनेर प्रश्न गरिने र नगए यिनलाई केही थाहा छैन भनेर खिसिट्यूरी गर्ने चलन रहेको गुनासो गरेका थिए । उनले १६ वर्ष भिक्टोरियाको नेपाली समूदायको सेवा गरेका चन्द्र योन्जनलाई धन्यवाद दिएका थिए भने नियुक्ति पाएका गौलीलाई प्रभावकारी रुपमा काम गर्न शुभकामना दिएका थिए । उनले जनतालाई सुविधा पुग्ने हिसाबले काम गर्दा केही अप्ठेरो आइपरेमा आफुहरुले त्यस विषयलाई नेपालमा सरकारी तहमा उठाउने प्रतिबद्धता पनि जनाएका थिए ।

कार्यक्रममा बोल्दै भिक्टोरियाका वाणिज्यदूत निराजन गौंलीले आफुले राम्रो काम गर्न नसके पनि नराम्रो नगर्ने भन्दै कुनै समस्या, गुनासो भए सिधै आफुकहाँ आउन अनुरोध गरे । उनले भने, “मैले केही कमजोरी गल्ती गरेको हो भने सिधै भन्नुस् । म सच्याउन तयार छु । तर, अन्यत्र यही कुरा गर्दै जाँदा त्यो भने आलोचनाको रुपमा बुझिने हुन्छ ।”

उक्त अवसरमा बोल्दै पूर्वमहावाणिज्यदूत चन्द्र योन्जनले कुटनीतिमा धेरै कुरा विचार गर्नुपर्ने धारणा राखेका थिए । त्यस्तै हिजो पनि समूदायकै साथमा रहेको र अब पनि निरन्तर समूदायमै रहेर काम गर्ने उनको धारणा थियो । योन्जनले वाणिज्यदूत नियुक्त भएका निराजन गौलीलाई सफल कार्यकालको शुभकामना दिँदै मिलेर अघि बढ्न तयार रहेको बताएका थिए ।

कार्यक्रममा नेपाली जनप्रगतिशील मञ्च अष्ट्रेलियाका उपाध्यक्ष गौतम लामिछाने, प्रवासी नेपाली मञ्च भिक्टोरियाका अध्यक्ष गणेश गौतम, जनसम्पर्क समिति भिक्टोरियाका सभापति दिनेश बन्जारा, अष्ट्रेलिन नेप्लीज जर्नलिष्ट एशोसिएसनका अध्यक्ष चिरञ्जीवी देवकोटा, एनआरएन भिक्टोरियाका संयोजक मणिरत्न सापकोटा, एनआरएन अष्ट्रेलियाका पूर्वअध्यक्ष केशव कँडेल लगायतले शुभकामना दिएका थिए । कार्यक्रमको सञ्चालन जनप्रगतिशील मञ्च भिक्टोरियाका अध्यक्ष तिलक उपाध्यायले गरेका थिए ।