रवि लामिछाने अनुसन्धानका लागि हिरासतमा, आजै पोखरा लगियो !

रवि लामिछाने अनुसन्धानका लागि हिरासतमा, आजै पोखरा लगियो !



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वसञ्चारकर्मी रवि लामिछाने पक्राउ परेका छन् । सहकारी ठगी प्रकरणमा पूर्व उपप्रधान तथा गृहमन्त्री समेत भइसकेका लामिछाने पक्राउ परेका हुन् । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पार्टी कार्यालय वनस्थलीमा पुगेर सभापति लामिछानेलाई नियन्त्रणमा लिएको थियो । पार्टी कार्यालयमा भेला भएका कार्यकर्तालाई सम्बोधन गरेपछि प्रहरीले कार्यकर्ताको भीड छिचोल्दै लामिछानेलाई पक्राउ गरेको हो । पक्राउ पछि रवि लामिछानेलाई सीआईबी टोलीले स्थलमार्गबाट पोखरातर्फ लगेको छ ।

गोरखा मिडिया नेटवर्क प्रालिको तत्कालीन सञ्चालक तथा प्रबन्ध निर्देशक हुँदा सहकारीको रकम दुरुपयोग भएको आरोप लामिछानेमाथि लागेको हो। कास्कीको पोखरा महानगरमा रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगीबारे अनुसन्धान गर्न राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सभापति रवि लामिछानेविरुद्ध शुक्रबार पक्राउ पुर्जी जारी गरेको थियो ।

कास्कीको सूर्यदर्शन सहकारीमा एक अर्ब ३५ करोड अपचलन भएको छ। जिल्ला अदालत कास्कीका न्यायाधीश कृष्णजंग शाहको इजलासले लामिछानेलाई पक्राउ गर्न शुक्रबार दिउँसो अनुमति दिएको थियो ।

गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशकसमेत रहेका लामिछानेले गितेन्द्रबाबु जिबी राईसँग मिलेर सहकारीको पैसा अपचलन गरेको संसदीय छानबिन विशेष समितिले निष्कर्ष निकालेको थियो। सोही अभियोगमा गोर्खा मिडिया नेटवर्कका तत्कालीन उपाध्यक्षसमेत रहेका नेपाल प्रहरीका पूर्व नायब महानिरीक्षक छविलाल जोशी अहिले कास्की प्रहरीको हिरासतमा छन् । उनी असोज ६ गते पक्राउ परेका थिए ।