सगमाथा बेसक्याम्प जान लागेका पर्यटक प्रतिकूल मौसमले मन्थलीमा रोकिए

सगमाथा बेसक्याम्प जान लागेका पर्यटक प्रतिकूल मौसमले मन्थलीमा रोकिए



मन्थली । सोलुखुम्बुको लुक्ला जान मन्थली आएका एक हजारभन्दा बढी विदेशी पर्यटक दुई दिनदेखि रोकिएका छन् । काठमाडौँबाट मन्थलीसम्म सडकबाट आउने र मन्थलीबाट लुक्ला हवाईजहाजमा जान भनी आएका एक हजार तीन सय विदेशी पर्यटक लुक्लामा मौसम प्रतिकूल भएपछि रोकिएका हुन् ।

रोकिएका पर्यटकहरू कोही सडकबाट सोलुखुम्बु सदरमुकाम फाप्लुतर्फ लागेका छन् भने कोही हेलिकोप्टरमार्फत सुर्के जान थालेका छन् । नागरिक उड्डयन प्राधिकरण कार्यालय मन्थलीका प्रमुख हिरोण शाहका अनुसार समिट, तारा र सीता एयरलाइन्समार्फत लुक्ला जाने तयारीमा रहेका विदेशी पर्यटक रोकिएका हुन् ।

मन्थलीबाट पर्यटकीय याममा दैनिक ५५ देखि ६० उडान हुने गरेको नागरिक उड्डयन प्राधिकरण मन्थलीका सूचना अधिकारी प्रज्वल गुरागाईँले जानकारी दिनुभयो । पर्यटकहरू शरद ऋतुका बेला सगरमाथा आधार शिविर पदयात्राका लागि जाने गर्दछन् । रासस