अष्ट्रेलियामा दुई दिन दशैंको टीका, आईतबारका लागि पञ्चाङ्गले निकालेको साईत यस्तो छ !

अष्ट्रेलियामा दुई दिन दशैंको टीका, आईतबारका लागि पञ्चाङ्गले निकालेको साईत यस्तो छ !



मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियामा नेपालीहरुले शनिबार र आईतबार दुई दिन दशैंको टीका लगाएर विजया दशमी मनाउँदैछन् । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले अष्ट्रेलियाको हकमा १३ तारिख आईतबार उत्तम साईत रहेको र शनिबार १२ तारिख दिन सुरु हुँदा दशमी तिथि नलागिसकेको कारणले आईतबार मात्रै टिका लगाउनु उपयुक्त हुने भन्दै जानकारीहरु सार्वजनिक गरेको थियो । तर, सर्वसाधारणले शनिबार नेपालको साईत अनुसार नै टिका लगाएका थिए ।
उनीहरुमध्ये अधिकांशले शनिबार अर्थात् १२ अक्टोबर दिउँसो २ बजेपछि टिका ग्रहण गरेका थिए ।
उता केही परिवार भने आईतबार मात्रै शुभ साईतमा टिका लगाउने भन्दै प्रतिक्षामा बसेका थिए । शनिबार टिका लगाउनेहरुको तर्क चाडबाड भनेको हिसाब किताब हैन, व्यवहारितामा पनि हेरिनुपर्छ भन्दै थिए । उनीहरुको तर्क थियो, नेपालमा आफ्ना मान्यजनले टिका लगाइसक्नुभयो । फोन गरेर आशिर्वाद दिन्छु भन्दै हुनुहुन्छ त्यतिेबेला मेरो देशमा अर्को दिन छ टिका भनेर कसरी सकियो र ?
अधिकांशले नेपालको आफ्नो परिवारसँगै अष्ट्रेलियामा टिका लगाएका छन् । कतिपयले ल्यापटपमा, कतिपयले फोनको भिडियो कलबाट पनि परिवारसँगै रहेको अनुभूति गर्दै टिका लगाएका हुन् ।

आईतबार टिका लगाउनेहरुको तर्क भने “विद्वानहरुले नै टिकाको साईत आईबार हो भनेपछि सबैभन्दा ठूलो चाडलाई विवादित बनाउनु हुँदैन त्यसैले आईतबार नै टिका लगाउनुपर्छ ।”

मेलबर्नमा रहेको नेपाली मन्दिर अर्थात् अष्ट्रेलियन नेप्लीज मल्टिकल्चरल सेन्टरमा भने शनिबार र आईतबार दुई दिन नै टिका लगाइदिने, जमरा वितरण गर्ने कार्य जारी राखिने भएको छ । शनिबार ठूलो संख्यामा सर्वसाधारणहरु यहाँ पुगेको देखिन्थ्यो । त्यहाँ उपस्थित भक्तजनहरुलाई बालव्यास श्रवण न्यौपाने र नारायण ज्ञवालीले उपस्थितलाई टिका र जमरा लगाइदिएका थिए । मन्दिरबाट निःशुल्क जमरा समेत वितरण गरिएको थियो ।


पञ्चांग निर्णायक समितिका अनुसार अष्ट्रेलियाको सिड्नीमा १३ अक्टोबर आईतबार ११ बजेर २१ मिनेटमा सिड्नीको समय अनुसार साईत, विहान ११ बजेर २७ मिनेटमा मेलबर्न, विहान ११ बजेर २९ मिनेटमा ब्रिबेन, विहान ११ बजेर १५ मिनेटमा क्यानबेरा, वहान ११ः ४५ देखि क्यानबेरामा मुख्य साईत रहेको। छ । यस्तै विहान ११ बजेर ४५ मिनेटमा एडिलेड, तास्मानिया ११ बजेर २१ मिनेटमा, डार्विन ११ बजेर ११ मिनटमा र पर्थ विहान ११ बजेर ३३ मिनेटमा तय भएको छ ।