परोपकारी काम सहित ‘एनआरएनए डे’ मनाइयो, २७ र २८ तारिख साधारणसभा

परोपकारी काम सहित ‘एनआरएनए डे’ मनाइयो, २७ र २८ तारिख साधारणसभा



काठमाडौं । गैरआवासीय नेपाली संघले संस्थाको स्थापना दिवस (एनआरएनए डे) स्वयंभू र पशुपतीनाथ मन्दिरमा पुजाआजा गरी मनाइएको छ ।
नेपाल सरकारले ११ अक्टोवरलाई एनआरएनए डे (गैरआवासीय नेपाली दिवस) को रूपमा मनाउँदै आएको छ ।
समृद्ध नेपालको परिकल्पना गर्दै सन् २००३ मा नेपालीका लागि नेपाली भन्ने मूल नारासहित स्थापना भएको गैरआवासीय नेपाली संघको विश्वका ८७ देशमा शाखा रहेको छ ।

गैरआवासीय नेपाली दिवसको अवसरमा संस्थाले शुक्रवार विहान स्वयम्भू नाथ र पशुपति नाथमा पुजा आजा गर्दै संस्थापक अध्यक्ष उपेन्द्र महतोको उपस्थितमा केन्द्रीय कार्यालयमा झन्डोत्तलन समेत गरेको छ ।

गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीका अनुसार स्थापना दिवसको अवसरमा संघले अक्टोवर पुरै महिना बिभिन्न संस्थागत तथा परोपरकारी कामका गतिविधि संचालन गर्न संघका राष्ट्रिय समितिहरुलाई आग्रह गरिएको छ । कार्यक्रममा संघका उपाध्यक्ष रोज़ीना प्रधान राई, कोषाध्यक्ष सुदन थापा सल्लाहकारहरु अतुल कोईराला, डीबी कार्की, आईसीसी सदस्य हेमन्त काफ्ले, अर्जुन गुरुड लगायतको उपस्थित रहेको थियो ।

संघले स्थापना दिवसको मुल समारोह तथा वार्षिक साधारणसभा भने आगामी अक्टोवर २७ र २८ तारिख काठमाण्डौंस्थित होटल सोल्टीमा आयोजना गर्ने तयारी गरेको छ । सो समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली लगायत सरकारका मन्त्रीहरुले सम्बोधन गर्ने कार्यक्रमतय गरिएको छ ।

वार्षिक साधारणसभामा संस्थाको सांगाठानिक तथा आर्थिक प्रतिवेदन पेश हुने संघका महासचिव गौरीराज जोशीले जानकारी दिए । विदेशमा रहेका नेपाली र नेपाली मुलका विदेशी नागरिकको ज्ञान, सीप, प्रविधि र पुँजीको परिचालन गर्दै देश विकासमा टेवा पर्–याउन सकिने सोचले रसियामा बस्ने नेपालीहरुको सकृयतामा सन् २००३ अगष्टमा लण्डनमा एक भेला आयोजना गरी सोही वर्षको अक्टोवर ११ – १३ तारिखमा काठमाडौमा पहिलो विश्व सम्मेलन गरेर विधिवतरुपमा गैरआवासीय नेपाली संघको स्थापना भएको थियो।