एनआरएन अध्यक्ष डा. केसीसँग अष्ट्रेलियाकी राजदूतको भेट, प्रिडिपार्चर ओरिएन्टेसनबारे कुराकानी

एनआरएन अध्यक्ष डा. केसीसँग अष्ट्रेलियाकी राजदूतको भेट, प्रिडिपार्चर ओरिएन्टेसनबारे कुराकानी



काठमाडौं ।

गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले नेपालका लागि अष्ट्रेलियाकी राजदूत लियन जोन्स्टनसँग काठमाडौंमा भेट गरेका छन् । भर्खरै नियुक्त भएकी राजदूतले हाल नेपाली समाजका विविध नेतृत्वसँग भेट गरिरहेकी छिन् । यसैक्रममा एनआरएन नेतृत्वसँग कुराकानी भएको हो ।

काठमाडौँस्थित अस्ट्रेलियाली दूतावासमा भएको भेटमा अष्ट्रेलियामा नेपाली विद्यार्थी जाँदा नेपालमा नै उनीहरुलाई जीवनशैली, पढाई, काम तथा कानूनी विषयहरु समेटेर प्रिडिपार्चर ओरिएन्टेसन दिने विषय मुख्य थियो । भेटमा अष्ट्रेलियन मिशन प्रमुख ग्रेग क्लेम पनि सहभागी थिए । भेटमा अस्ट्रेलियाको भिसाका लागि नेपालम रहेको दूतावासमार्फत दिने व्यवस्था गर्न, अस्ट्रेलियाली अर्थतन्त्रमा नेपालीको योगदानको मान्यता, छात्रवृत्ति अवसरको वृद्धि, सांस्कृतिक आदानप्रदान, व्यापार र द्विपक्षीय सम्बन्धलाई मजबुत बनाउने योजनाहरूमा समेत कुराकानी भएको थियो ।

हालै नेपाल फेष्टिभल पर्थमा सहभागी भएका अध्यक्ष डा. केसीले एडिलेड, मेलबर्न, सिड्नीको समेत भ्रमण गरेका थिए । भेटमा यस विषयमा पनि चर्चा भएको थियो । भेटका क्रममा आफुले एनआरएनले आगामी मार्च ८ तारिखका दिन नेपालमा गर्न लागेको अन्तर्राष्ट्रिय महिलाहरूको सम्मेलनका विषयमा जानकारी गराउँदै सहभागिताको लागि राजदूत जोन्स्टनलाई अनुरोध गरेको अध्यक्ष केसीले जानकारी दिनुभयो ।

यो भेटले नेपाल र अस्ट्रेलियाबीचको सम्बन्धलाई थप सुदृढ पार्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । उक्त भेटका क्रममा संघका अध्यक्ष डा बद्री केसीसँगै प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउत पनि उपस्थित हुनुहुन्थ्यो ।