मेलबर्न, अष्ट्रेलिया ।
गैरआवासीय नेपाली संघ अष्ट्रेलिया भिक्टोरिया राज्य समितिले केही समय अघि नेपाल सरकारबाट नियुक्त भएका अवैतनिक वाणिज्यदूत निराजन गौली र साधारणसभामार्फत निर्वाचित नेप्लीज एशोसिएसन अफ भिक्टोरियाको नयाँ कार्यसमितिलाई स्वागत गरेको छ ।
एनआरएन कार्यालय कोबर्गमा आयोजना गरिएको कार्यक्रममा बोल्दै एनआरएन अष्ट्रेलियाका प्रवक्ता बबिन मिश्रले विगतमा झैं मिलेर बसेको नेपाली समूदायलाई सहकार्यको माध्यमबाट अझ एकीकृत गर्ने उद्देश्यले स्वागत कार्यक्रम राखिएको जानकारी दिएका थिए । यस्तै भिक्टोरिया संयोजक एवं एनआरएनका उपाध्यक्ष मणिरत्न सापकोटा र उपसंयोजक महादेव धानुकले सद्भाव र सहकार्यको परम्परालाई निरन्तरता दिन नेपालीहरुको साझा संस्था न्याभ र नेपाल सरकारको प्रतिनिधिका रुपमा रहने वाणिज्यदूतलाई स्वागत गरिएको बताए ।
उक्त अवसरमा बोल्दै वाणिज्यदूत निराजन गौलीले आफ्नो मुख्य ध्यान नै कसरी यहाँ रहेको नेपाली समूदायलाई सेवा प्रदान गर्न सकिन्छ भन्नेमा केन्द्रित रहेको र त्यसमा गैरआवासीय नेपाली संघ, न्याभ लगायतका संघसंस्थाहरुसँग हातेमालो गर्ने धारणा राखेका थिए । उनले समूदायको सेवा एक्लैले गर्ने भन्दा पनि समूदाय नै मिलेर गर्ने कार्य भएको भन्दै वाणिज्यदूतको कार्यालयले दिने सेवाहरुलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका थिए ।
एनआरएन भिक्टोरियाका सचिव सचेन्द्र गौतमले सञ्चालन गरेको कार्यक्रममा बोल्दै न्याभका अध्यक्ष डा. एकीन्द्र तिमिल्सिनाले गैरआवासीय नेपाली संघसँग विगतमा झैं सहकार्य अघि बढाउने प्रतिबद्धता जनाउँदै स्वागतका लागि धन्यवाद दिएका थिए ।
प्रतिक्रिया