सिड्नी, अष्ट्रेलिया ।
उनको नाम महेश प्रसाईं । धेरैले भने म्याक्स बाबु भनेर चिन्छन् । भिजन फर मोटिभेसनमार्फत विद्यार्थीहरुका लागि उपयोगी शिप, मुख्यतः पानीमा हुने जोखिम कम गराउनका लागि तालिम सञ्चालन गरेपछि उनको चर्चा सुरु भएको थियो । पेशाले मासु व्यापारी, कृषक । तर, पछिल्लो समय उनको चर्चा सिड्नीमा खालिएको एक सपिङ कम्प्लेक्सको उद्घाटन त्यहाँका प्रिमियर अर्थात् मुख्यमन्त्रीबाट गराएपछि फेरि एक पटक चुलिएको छ ।
मुख्यमन्त्रीसँगै सांसद् तथा मन्त्री स्टेफेन क्याम्पर पनि उद्घाटनमा सहभागी भएर म्याक्सको प्रगतिको प्रसंसा गरेका थिए ।
अहिले लुक्ला टिभीका सञ्चालक समेत रहेका महेशको संघर्षको कथा लामो छ । तर, उनको सक्रियताका अघिल्तिर यो लामो यात्रा पनि सहज अनि छोटो लाग्न सक्छ तपाईं हामीलाई । १५ वर्षअघि अष्ट्रेलिया आएका उनले एभरेष्ट बुचरी सञ्चालन गरिरहेका छन् । केही अघि भुरभुरे मम पसल पनि उनले खोले । सरकारी काम पनि केही समय उनले गरेका थिए ।
यति मात्र होइन, उनी हरेक पटक चुनावमा लेबर पार्टीको समर्थनमा विभिन्न गतिविधि गरिरहन्छन् । स्थानीय सांसदहरुको चुनावी क्याम्पेनमा खटिन्छन् । यही यात्रामा भेटिएका हुन् कोग्राका मेम्बर अफ पार्लियामेन्ट अर्थात् सांसद क्रिस मिन्स । उनी न्यूसाउथवेल्स राज्यको प्रिमियर बने । म्याक्स भन्छन् क्रिस मेरो साथी हुन् । मैले सपिंग सेन्टर खोल्न लागेको थाहा पाएपछि यसको उद्घाटन मैले गर्नुपर्छ भनेर उनले भने । मैले पनि त्यसलाई नकार्न सकिन अनि कार्यक्रम नै आयोजना गरेर शुभारम्भ गरेका हौं ।
उद्घाटन कार्यक्रममा प्रिमियर क्रिसले भनेका थिए “कन्ट्री फ्रेस रकडेल थ्री चियर्स टु म्याक्स, हिप हिप हुर्रे । म्याक्स निकै चर्चित छन् । उनी दिनुमा विश्वास गर्छन् । नेपाली मात्र नभएर सबै समूदायका लागि उनी उत्तिकै चर्चित छन् ।”
कार्यक्रममा न्यूसाउथवेल्सका लागि नेपाली अवैतनिक वाणिज्यदूत सञ्जीव शर्मा, पूर्वमहावाणिज्यदुत दिपक खड्का, एनआरएन अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, एन्जाका सचिव सरल गुरुङ, समूदायका अगुवा भवानी ओली, रमेश पाण्डे, युवा व्यवसायी विजय पौडेल लगायत अधिकांश नेपाली समूदायका अगुवाहरु बधाई दिन पुगेका थिए ।
यस्तो छ कार्यक्रमको फोटो फिचर –
प्रतिक्रिया