वाणिज्यदूतको कार्यालयमा नेपालको सत्तारुढ दलका नेताहरु भट्टराई र पौडेलको स्वागत

वाणिज्यदूतको कार्यालयमा नेपालको सत्तारुढ दलका नेताहरु भट्टराई र पौडेलको स्वागत



मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियाका लागि नेपाली अवैतनिक वाणिज्यदूतको कार्यालयमा अष्ट्रेलियाको भ्रमणमा रहेका नेपालको सत्तारुढ दल नेकपा एमाले र नेपाली काँग्रेसका नेताहरुलाई स्वागत गरिएको छ । समूदायसँग अन्तरक्रियासहित स्वागत कार्यक्रम शुक्रबार दिउँसो आयोजना गरिएको थियो ।

अवैतनिक वाणिज्यदूत निराजन गौलीले नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री योगेश भट्टराई र नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा जनसम्पर्क विभाग प्रमुख किरण पौडेललाई स्वागत गरेका हुन् । उक्त अवसरमा गैरआवासीय नेपाली संघ भिक्टोरियाका उपसंयोजक महादेव धानुक, एनआरएन आईसीसीका पूर्वउपाध्यक्ष दुर्गा आचार्य, फेन्का अध्यक्ष बम योन्जन, एनआरएन आईसीसी एएनएमसीका अध्यक्ष गान्धी भट्टराई, सल्लाहकार नारायण काफ्ले, जनसम्पर्क समिति अष्ट्रेलियाका अगुवा विनितराज शर्मा, नेपाली काँग्रेस र नेकपा एमाले र माओवादीका भ्रातृ संगठनहरु जनसम्पर्क समिति प्रवासी नेपाली मञ्च र जनप्रगतिशील मञ्चका प्रतिनिधिहरु सहभागी थिए ।


कार्यक्रममा सहभागी भएका समूदायका अगुवाहरुले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा जिज्ञासा राखेका थिए भने प्रवासीहरुलाई देशको विकासमा जोड्ने विषयमा के गर्न सकिन्छ भन्ने विषयमा छलफल केन्द्रित भएको थियो । केही सहभागीहरुले नेपालबाट आएका नेताहरुले समयको महत्वलाई बुझ्नुपर्नेमा जोड दिएका थिए ।

गैरआवासीय नेपाली संघका निमन्त्रणामा एडिलेडमा भएको कार्यक्रममा सहभागी हुन सचिव भट्टराई अष्ट्रेलिया आएका हुन् । यस्तै काँग्रेस केन्द्रीय सदस्य पौडेल जनसम्पर्क समितिको निमन्त्रणामा अष्ट्रेलियाको भ्रमणमा छन् ।