एमालेका सचिव योगेश भट्टराई अष्ट्रेलियाको राज्य संसदको अवलोकन भ्रमणमा

एमालेका सचिव योगेश भट्टराई अष्ट्रेलियाको राज्य संसदको अवलोकन भ्रमणमा



मेलबर्न, अष्ट्रेलिया ।

नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री योगेश भट्टराईले अष्ट्रेलियाको भिक्टोरिया राज्यको संसदको अवलोकन भ्रमण गरेका छन् । गैरआवासीय नेपाली संघको निमन्त्रणामा युथ कन्क्लेभमा भाग लिन यहाँ आएका उनलाई मेलबर्नमा भिक्टोरियाको संसदमा सांसद क्याथलिन एन्ड्रयू वार्डले स्वागत गरिन् । अष्ट्रेलिया नेपाल पार्लियामेन्ट्री फ्रेन्ड्सकी सचिव समेत रहेकी उनले आफ्ना लागि यो विशेष अवसर बनेको बताएकी थिइन् ।

दुई नेताबीच अष्ट्रेलिया र नेपालको राजनीतिक पद्धति र संघीय संरचनाहरुले गर्ने काम, संसदको संरचना र काम कारवाही, महिला सहभागिता, अष्ट्रेलिया र नेपालबीचको सम्बन्धका महत्वपूर्ण आयामहरु लगायतमा कुराकानी भएको थियो । क्याथलिनले नेता भट्टराईलाई संसद भवनको भ्रमण गराएकी थिइन् ।

उक्त अवसरमा भिक्टोरियाका लागि नेपाली वाणिज्यदूत निराजन गौली, अष्ट्रेलियन नेप्लीज जर्नलिष्ट एशोसिएसनका अध्यक्ष चिरञ्जीवी देवकोटा, प्रवासी नेपाली मञ्च भिक्टोरियाका ईन्चार्ज प्रकाश सेढाई, मञ्चका भिक्टोरिया अध्यक्ष गणेश गौतम, द्रोण पन्त लगायत उक्त अवसरमा सहभागी थिए । भ्रमणको संयोजन ईन्द्र अधिकारीले गरेका थिए ।

होम्स कलेजका सिईओसँग भेट

यसअघि, सचिव भट्टराईले होम्स कलेजका सिईओ स्टेफन नेगलसँग भेट गरेका थिए । अष्ट्रेलियामा विगत ६० वर्षअघि स्थापना भएको कलेजमा नेपाली विद्यार्थीहरुको पढाईको ईतिहास नै २० वर्षभन्दा पुरानो छ । विभिन्न देशका ५ हजार विद्यार्थी पढ्ने कलेजमा विभिन्न कोर्षसहित व्याचलर अफ एभिएसन र व्याचलर अफ एभिएसन म्यानेजमेन्ट पनि पढाई भइरहेको छ । पछिल्लो समय कलेजले माष्टर्स अफ ड्रोन टेक्नोलोजी पढाईको तयारी गरिरहेको जानकारी स्टेफनले गराएका थिए ।


सिईओ स्टेफन नाग्लेले आफ्नो सन् १९७० ताकाको नपाल भ्रमणको सम्झना गरेका थिए । उनले लांगटांग राष्ट्रिय निकुञ्ज हुँदै पदयात्रामा गएको र नेपालको यात्रा सदैव सस्मरणमा रहेको भन्दै छिट्टै भ्रमण गर्न योजना बनाइरहेको बताएका थिए । उनले कलेजको अत्याधुनिक ल्याबका विषयमा जानकारी गराएका थिए ।


उक्त भेटमा चिफ अपरेटिंग अफिसर एलेक्स एन्डरसनले हवाई उड्डयन क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गरिरहेको जानकारी गराएका थिए । नेपालीहरु मेहनती र पढाईमा पनि अब्बल आफुले पाएको उनको प्रतिक्रिया थियो ।