काठमाडौं । विभिन्न सहकारीबाट गोर्खा मिडियामा गएको रकम अपचलन गरेको आरोपमा प्रहरीले पूर्वडीआईजी छविलाल जोशीलाई पक्राउ गरेको छ । उनी भाग्ने तयारीमा रहेको बेला प्रहरीले पक्राउ गरेको जनाएको छ । उनलाई जहाजबाट पोखरा लगिएको छ भने आज जिल्ला अदालतमा उपस्थित गराएर अनुसन्धानका लागि समय थप गर्ने तयारी छ । ६५ करोडभन्दा बढी सहकारीको रकम अपचलन गरेको अभियोगमा जोशीलाई पक्राउ गरिएको हो ।
पोखराको सूर्यदर्शन सहकारीका पीडितले गोर्खा मिडिया, रास्वपा सभपाति तथा पूर्वगृहमन्त्री रवि लामिछाने, दिपेश पुनसहित ४ व्यक्ति र १४ संस्थालाई विपक्षी बनाएर जाहेरी दिएका थिए । यस विषयमा रवि लामिछाने गृहमन्त्री रहेकै बेला नेपाली काँग्रेसले लगातार संसद अबरुद्ध गरेको थियो । वर्तमान गृहमन्त्री रमेश लेखकले निरन्तर यस प्रकरणमा रवि लामिछानेको विरोध गर्दै आएका थिए ।
यसैबीच, छवि पक्राउ परेपछि रवि पनि पक्राउ पर्ने आशंकामा कार्यकर्ताले रास्वपाको केन्द्रीय कार्यालयलाई घेराउ गरेका छन् । भित्र रवि लामिछाने बसेका छन् भने कार्यकर्ताले कुनैपनि हालतमा पक्राउ गर्न नदिने भन्दै नाराबाजी गरेका थिए । सभापति रवि लामिछानेले कार्यकर्तालाई सम्बोधन गर्दै आफुले कुनै गलत काम नगरेका कारण डराउनुपर्ने अवस्था नरहेको बताएका थिए । तर, मिडिया ट्रायल गर्ने, धरपकड गर्ने काम भए त्यसको सशक्त प्रतिरोध गरिने उनले बताएका थिए ।
यसैबीच, चीन भ्रमणमा गएको उपसभापति स्वर्णिम वाग्ले सहितको टोलीलाई रास्वपाले फिर्ता बोलाएको छ । सभापतिलाई पक्राउ गर्ने तयारी भएको चाल पाएपछि उनीहरुलाई तत्कालै भ्रमण छोट्याएर फिर्ता आउन भनिएको थियो ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता दानबहादुर कार्कीले जोशीमाथि अनुसन्धान गर्नुपर्ने भएकाले नियन्त्रणमा लिएको बताए ।
गत बिहीबारको मन्त्रिपरिषद् निर्णय अनुसार आइतबार गृहमन्त्री लेखकले छानबिन प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएका थिए । गृहमन्त्री लेखकले जुनसुकै अवस्थामा भएपनि तत्कालै पक्राउ गर्न निर्देशन दिएको बताइएको छ ।
समितिले तयार पारेको प्रतिवेदनमा गोर्खा मिडिया नेटर्वकका तत्कालीन अध्यक्ष जितेन्द्र बहादुर राई, प्रबन्ध निर्देशक पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं प्रतिनिधि सभा सदस्य रवि लामिछाने र सञ्चालक जोशीलगायतलाई कारबाहीको लागि सिफारिस गरेको छ।
प्रतिक्रिया