‘एनआरएन डे’ अघि दुईवटा महत्वपूर्ण उपलब्धी हासिल हुँदैछ : अध्यक्ष डा. बद्री केसी

‘एनआरएन डे’ अघि दुईवटा महत्वपूर्ण उपलब्धी हासिल हुँदैछ : अध्यक्ष डा. बद्री केसी


गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले अर्को महिना हुन लागेको एनआरएन डे भन्दा अघि विदेशमा बस्ने नेपालीहरुले दुई महत्वपूर्ण उपलब्धी हासिल गर्ने पक्का भएको बताउनुभएको छ । एनआरएनए अष्ट्रेलिया भिक्टोरिया राज्य समितिले मेलबर्नमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष डा. केसीले यस्तो बताउनुभएको हो । उहाँले कार्यक्रममा भन्नुभयो, “एनआरएनको तर्फबाट म गृहमन्त्रीसँग बसेको थिएँ । हामीले गरेको छलफलपछि केही नेपाल ऐन संशोधन गरेर भएपनि गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेपछि पाउने राजनीतिक अधिकारबाहेकको सुविधाहरु तत्काल कार्यान्वयनको चरणमा लैजाने प्रतिबद्धता जनाउनुभएको छ । यसको लागि हाम्रो एनआरएन डेभन्दा पहिले नै यो प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी छ ।”

अध्यक्ष डा. केसीले ७७ वटै जिल्लाबाट एनआरएन नागरिकता वितरण भइरहेको र त्यस क्रममा कुनै समस्या आएमा काठमाडौंमा अवस्थित केन्द्रीय सचिवालयमा सञ्चालन गरिएको २४ सै घण्टा हटलाईनमा सम्पर्क गर्न अनुरोध गर्नुभयो ।

साथै उहाँले नेपालमा लगानी गर्न चाहेको एनआरएनका लागि अझै सहज वातावरण बन्न नसकेको भन्दै त्यसका लागि पनि आफुहरुले निरन्तर छलफल अघि बढाएर नेपालमा एनआरएनले गर्ने लगानी चाहे १ डलर नै किन नहोस् त्यसको प्रतिफल सहज रुपमा फिर्ता लैजान पाउने व्यवस्था गर्नसक्ने वातावरण बन्न लागेको जानकारी दिनुभएको थियो । उहाँले भन्नुभयो, “एनआरएन डेभन्दा अघि नै यस विषयमा निर्णय हुने आश्वासन अर्थमन्त्रीज्यूले छलफलको क्रममा दिनुभएको छ । नेपालको शेयर बजारमा एनआरएनहरुले लगानी गर्न पाउने व्यवस्था गर्ने कार्यमा रहेका केही कानूनी जटिलताहरुलाई समेत हटाउने आश्वासन हामीले पाएका छौं ।”

आगामी दिनमा एनआरएनले पूर्ण अधिकारसहितको नागरिकताको निरन्तरताका विषयलाई अघि बढाउने प्रतिबद्धता जनाउनुभयो । ईटालीको संसदमा देशभन्दा बाहिर रहेकाहरुलाई प्रतिनिधित्व गर्न १८ जना सांसद छान्ने व्यवस्था रहेको, पोर्चुगलमा २ जना सांसद देशबाहिर रहेका नागरिकहरुको लागि छुट्याइएको उदाहरण दिँदै नेपालका राजनीतिक दलहरुले देशभन्दा बाहिर बस्ने नेपालीको प्रभावलाई बुझिसकेका कारण नेपालमा पनि विदेशमा बस्ने नेपालीको प्रतिनिधित्व संसदमा हुने दिन आउन धेरै समय नलाग्ने विश्वास व्यक्त गर्नुभयो ।

एनआरएनमा देखिएको विवादबारे चर्चा गर्दै अनलाई मतदानको माध्यमबाट भएको चुनावको प्रक्रियामा सहभागी हुने तर परिणामलाई विभिन्न बहानामा अस्वीकार गर्ने कार्य सही नभएको अध्यक्ष डा. केसीको भनाई थियो । यस्तो कार्य गर्ने व्यक्तिहरु एनआरएनको सदस्यसमेत हुन लायक नरहेको भन्दै आगामी दिनमा त्यस्ता व्यक्तिहरुलाई कारवाही हुने चेतावनी उहाँले दिनुभयो ।

उक्त अवसरमा आफ्नो धारणा राख्दै एनआरएन उपाध्यक्ष रोजिना प्रधान राईले एनआरएन अभियानमा महिला सहभागिता बढाउन सबैको साथ आवश्यक रहेको धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “घरको चुलो चौकोबाट निस्किदै गर्दा सजिलो छैन, संस्थामा आएपछि अझ गाह्रो छ । महिला प्रोत्साहन गर्ने र अघि बढाउने उद्देश्यका साथ मार्च ८ तारिख ग्लोबल ओमन कन्फ्रेन्स गर्दैछौं । त्यसमा सहभागी हुन आग्रह गर्न चाहें ।”

यस्तै एनआरएन सचिव टिका गुरुङले नेपालमा बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयसँगको सहकार्यमा ५० जना घरबारविहीन बालबालिकाहरुलाई प्रतिमहिना ५ हजारको दरले सहयोग गरिरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “भविष्यमा सडक बालबालिकाविहीन नेपाल बनाउने सरकारी अभियानमा साथ दिने हाम्रो योजना छ ।”

एनआरएनका सचिव डा. ज्ञानेन्द्र रेग्मीले अदालतको निर्णयपछि मूल एनआरएन कुन हो हो भन्ने विवाद बाँकी नरहेको भन्दै निरन्तर एनआरएन अभियानमा लाग्न आग्रह गर्नुभएको थियो । उहाँले भन्नुभयो, “एनआरएन अभियान छाडेर डु – अन्डु र रिडुका कामहरु बन्द गर्न आग्रह गर्दछु ।”

कार्यक्रममा सहभागी अतिथिहरुलाई एनआरएन अष्ट्रेलियाका प्रवक्ता बबिन मिश्रले स्वागत गर्नुभएको थियो । कार्यक्रमको सभापतित्व एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष एवं भिक्टोरिया संयोजक मणिरत्न सापकोटाले गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन एनआरएन भिक्टोरियाका सचिव सशेन्द्र गौतमले गर्नुभएको थियो । कार्यक्रममा उपस्थित एनआएन अभियन्ता, पत्रकार र विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले राखेको जिज्ञासाको जवाफ अध्यक्ष डा. बद्री केसीले दिनुभएको थियो ।