एनआरएन आईसीसी अध्यक्ष बद्री केसीको आज मेलबर्नमा कार्यक्रम, समूदायको प्रश्नको उत्तर दिने

एनआरएन आईसीसी अध्यक्ष बद्री केसीको आज मेलबर्नमा कार्यक्रम, समूदायको प्रश्नको उत्तर दिने



मेलबर्न, अष्ट्रेलिया ।

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष डा. बद्री केसी आज मेलबर्न आउँदैछन् । अष्ट्रेलियाको साताव्यापी भ्रमणमा रहेको आईसीसी टोली सिड्नीको कार्यक्रम सकेर मेलबर्न आउन लागेको हो । बुधबार सिड्नीको एनआरएन अष्ट्रेलियाको कार्यालयमा उनलाई अध्यक्ष अनिल पोखरेल, क्षेत्रीय संयोजक दिनेश पोखरेल लगायतले स्वागत गरेका थिए ।

त्यस्तै बद्री केसी एनआरएन अष्ट्रेलियाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा समेत सहभागी भएका थिए । सिड्नीपछि बिहीबार साँझ मेलबर्नमा आयोजना गर्न लागिएको कार्यक्रममा सहभागी हुने उद्देश्यले डा. केसी मेलबर्न आउन लागेका हुन् । एनआरएनको नागरिकताका सम्बन्धमा देखिएको भ्रमलाई कसरी अन्त्य गर्न सकिन्छ भन्ने विषयमा मूलत अध्यक्ष केसीले यहाँ रहेका नेपालीहरुलाई आश्वस्त पार्न खोजेका छन् । त्यस्तै पछिल्लो समय अदालती दाउपेचकाबीच तीन महिना निस्क्रिय बनेको एनआरएनलाई फेरि उही रफ्तारमा अघि बढाउने उनको योजना अन्तर्गत अष्ट्रेलियाको भ्रमण तय भएको हो ।

यहाँ भएको नेपाल फेष्टिभल पर्थमा सहभागी भएका डा. केसीले सिड्नी, मेलबर्न हुँदै एडिलेडमा हुन लागेको युवा सम्मेलनमा सहभागिता जनाउने छन् । युवा सम्मेलन मार्फत नेपालमा विकासको नयाँ चरण सुरुवात गर्न के समस्या छन् तिनलाई अन्तर्राष्ट्रिय रुपमा विभिन्न पेशा व्यवसायमा संलग्न युवाहरुले के योगदान दिन सक्छन् भन्ने लगायतका विषयमा छलफल हुँदैछ ।

एनआरएन अष्ट्रेलियाका प्रवक्ता बबिन मिश्रले दिउँसो तीन बजे डा. केसीसहितको आईसीसी टोली मेलबर्न आइपुग्नेछ । साँझ ६ बजेदेखि ९ बजेसम्म तीन घण्टा यहाँको समूदायसँग अन्तरक्रिया कार्यक्रम राखिएको छ । कोबर्गमा रहेको मुस्तांग प्यालेसमा कार्यक्रम गर्न लागिएको हो ।