भव्य बन्यो नेपाल फेष्टिभल पर्थ, मन्त्रीले गरे १० हजार डलर दिने घोषणा

भव्य बन्यो नेपाल फेष्टिभल पर्थ, मन्त्रीले गरे १० हजार डलर दिने घोषणा



पर्थ, अष्ट्रेलिया ।

अष्ट्रेलियाको पर्थमा आयोजना भएको नेपाल फेष्टिभलका लागि त्यहाँको स्थानीय सरकारले १० हजार डलर सहयोग गर्ने भएको छ । शनिबार १४ सेप्टेम्बरमा आयोजना गरिएको नेपाल फेष्टिभलमा प्रमुख अतिथिको रुपमा सहभागी भएका नागरिकता र बहुसांस्कृतिक चासो सम्बन्धी मन्त्री डा. टोनी बुटीले यस्तो जानकारी गराएका हुन् । पानसमा बत्ती बालेर एनआरएन आईसीसीका अध्यक्ष बद्री केसी र नेपाल फेष्टिभलका संयोजक शेखर घिमिरेसँगै कार्यक्रमको शुभारम्भ गरेका उनले नेपाली समूदायको प्रशंसा गरेका छन् ।

प्रिमियरको प्रतिनिधित्व गरेर आएका मन्त्री बुटीले पर्थको बहुसांस्कृतिक समूदायमा नेपाल फेष्टिभल स्थापित हुँदै गरेको बताए । यस पटक सुप्रिम कोर्ट पार्कमा आयोजना गरिएको नेपाल फेष्टिभलमा १२ हजारभन्दा बढी दर्शक सहभागी भएका थिए । नेपाल फेष्टिभलमा नेपाली खाना, व्यवसायहरुका ३८ वटा स्टल राखिएका थिए । यस्तै नेपालको परिचय गराउने खालका विभिन्न प्रतिकात्मक सामग्री पनि प्रदर्शनीमा राखिएको थियो ।

नेपाली पाराको घर, धरहरा, पशुपतिनाथ, बौद्ध लगायतको प्रतिमासँगै फोटो खिचाउनेहरुको घुईचो थियो ।
उक्त अवसरमा बोल्दै एनआरएन आईसीसीका अध्यक्ष बद्री केसीले अष्ट्रेलियाबाट सुरुवात भएको नेपाल फेष्टिभल सबै राज्यमा विस्तार भएको थाहा पाउँदा खुशी लागेको बताए । अध्यक्ष केसीले गैरआवासीय नेपालीहरुले प्राप्त गरेको नागरिकतामा केही समय समस्या आएको स्वीकार गर्दै नेपाल सरकारसँग यस विषयमा छलफल गरिसकेको जानकारी दिए । अगामी गैरआवासीय नेपाली नेपाली दिवस अघि नै नागरिकतामा देखिएका समस्याहरु समाधान हुने समेत बताए । उपाध्यक्ष विनोद श्रेष्ठ, क्षेत्रीय संयोजक दिनेश पोखरेल सचिव डा. ज्ञानेन्द्र रेग्मी, एनआरएन महिला संयोजक रोजिना प्रधान, टीका गुरुंग, एन्जाका अध्यक्ष चिरञ्जीवी देवकोटा लगायतले कार्यक्रम सफलताको शुभकामना दिएका थिए ।

कार्यक्रममा बोल्दै एनआरएन अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले एनआरएन पर्थले नेपाल फेष्टिभल आयोजनामा उत्कृष्ट कार्य गरेको भन्दै प्रशंसा गरे । उनले गएको एक वर्षको आफ्नो कार्यकालमा महत्वपूर्ण उपलब्धीहरु हासिल भएको भन्दै आठ वटै राज्यमा हुने नेपाल फेष्टिभलले नेपाली समूदायलाई यहाँको मूलधारको अष्ट्रेलियन समूदायसँग नजिक ल्याउने अपेक्षा गरेको बताए ।
कार्यक्रमको उद्घाटन पर्थ पूजा सेवाका स्वयंसेवकहरुले स्वस्ती वाचनबाट भएको थियो । कार्यक्रममा बोल्दै अष्ट्रेलियाको संघीय सांसद साम लिमले दोश्रो पुस्ताको उदाहरण दिँदै उनीहरु कहाँबाट आएका हुन्, त्यहाँको खाना के हो ? त्यहाँको भाषा के हो भन्ने जानकारी गराउनु महत्वपूर्ण कार्य भएको बताए ।

कार्यक्रममा सहभागी हुन सिड्नीबाट न्यूसाउथवेल्सका महावाणिज्यदूत सञ्जीव शर्मा, एनआरएन क्षेत्रीय संयोजक दिनेश पोखरेल, सहसंयोजक कोमल पाठक लगायत सहभागी थिए । यस्तै मेलबर्नबाट प्रवक्ता बबिन मिश्र लगायत सहभागी भएका थिए । यस्तै क्वीन्सल्याण्डबाट महासचिव सन्तोष कुँवर, डार्विनबाट सञ्जीव ढकाल लगायतले सहभागिता जनाएका थिए । कार्यक्रममा सांगीतिक रुपमा एक्स व्याण्डले आफ्नो प्रस्तुतिले उपस्थित दर्शकलाई नचाएको थियो भने गायिका आस्था राउत, लोकगायक बद्री पंगेनी लगायतले उपस्थित दर्शकलाई झुमाएका थिए ।

नेपाल फेष्टिभल पर्थमा पहिलो पटक १० मिनेट आतिशबाजी गरिएको थियो ।