मेलबर्न, अष्ट्रेलिया ।
लामो समयदेखि परोपकारी तीजलाई निरन्तरता दिएको नारी निकुञ्ज अष्ट्रेलियाले यस पटकको तीज विशेष कार्यक्रमहरुबाट ११ हजार ५ सय डलर नेपालमा परोपकारी कार्यका लागि सहयोग गर्ने भएको छ । नेपालमा आङ खस्ने समस्यामा रहेका नारीहरुलाई सहयोग गर्दै आएको संस्थाले यससँगै पारिवारिक हिंसा पीडित र अन्य समस्यामा रहेका नारीहरुलाई पनि सहयोगको हात अघि बढाउन लागेको संयोजक संगीता चापागाईंले केविसीखबरलाई बताइन् ।
उनले, अझै पनि विभिन्न राज्यहरुमा आयोजना गरिएको तीज कार्यक्रमको हिसाब आउने क्रममा रहेकोले सहयोग रकम थप बढ्ने जानकारी दिइन् । उनले भनिन् “हामीले न्यूसाउथवेल्स र तास्मानियाको हिसाब प्राप्त गरिसकेका छौं त्यसैले कन्फर्म ११ हजार ५ सय डलर सहयोग नेपालमा पठाउने भएका छौं । अन्य ठाउँबाट पनि हिसाब आएपछि यो रकम बढ्न सक्छ ।”
तीजको अवसर पारेर अगष्ट ३ तारिखमा मेलबर्नबाट सुरु भएको तीज विशेष सांगीतिक कार्यक्रम तास्मानियामा सेप्टेम्बर ५ र ६ तारिख (होबार्ट र लन्चेष्टन) सम्पन्न भएको थियो । यसबीचमा सिड्नीमा १० अगष्ट, ब्रिसबेनमा १९ अगष्ट, एडिलेड, पर्थ र डार्विनमा १ सेप्टेम्बर कार्यक्रमहरु भएका थिए । यस पटक नारी निकुञ्जका कार्यक्रमहरुमा गायिका कोमल ओली, गायिका सुनीता दुलाल, देवी घर्ती, प्रिती आले, पशुपति शर्मा, रुविना अधिकारी, शोभा त्रिपाठी लगायतले प्रस्तुति दिएका थिए ।
कार्यक्रमपछि प्रतिक्रिया दिँदै नारी निकुञ्ज एनएसडब्ल्यू राज्य संयोजक सबला बस्नेत, साउथ अष्ट्रेलिया संयोजक रिज्नु अधिकारी, वेष्टर्न अष्ट्रेलिया संयोजक मीम सुब्बा गुरुङ, तास्मानिया संयोजक आरजु रिजाल, नर्दन टेरोटेरी संयोजक प्रियासा नेपाल, क्वीन्सल्याण्ड संयोजक पारु सापकोटा र भिक्टोरिया संयोजक राशीसिंह ठकुरीले दिदीबहिनी एकसाथ भेला भएर भव्यताका साथ तीज कार्यक्रम मनाइएको जानकारी दिए । उनीहरुले कतिपय राज्यमा अन्य सामाजिक र सामूदायिक संघसंस्थाहरुसँग समेत सहकार्य गरेका थिए । संयुक्त रुपमा नारी निकुञ्ज राज्य संयोजकहरुले यस कार्यका लागि साथ, सहयोग र सहभागिताका लागि सबैमा आभार व्यक्त गरेका छन् ।
प्रतिक्रिया