काठमाडौं । प्रहरीको अन्तर्राष्ट्रिय अपराध संगठन इन्टरपोलको नेसनल सेन्ट्रल ब्यूरो एनसीबी सिंगापुरले नेपाल प्रहरीको एनसीबी काठमाडौंलाई पत्राचार गर्दै एक बहालवाला डिएसपीसहित तीन नेपालीको विवरण माग गरेको छ ।
२९ जुलाई २०२४ मा एनसीबी सिंगापुरले एनसीबी काठमाडौंलाई पत्राचार गरेको हो । एनसीबी सिंगापुरले आतंकवादसँग जोडिएर आर्थिक कारोबार गरेको आंशका गरिरहेका तीन नेपालीको पृष्ठभूमिबारे जानकारी गराइदिन आग्रह गरेको हो ।
आतंककारी गतिविधिमा संलग्न रही ठूलो आर्थिक कारोबार गरिरहेका कालिकोटका महेन्द्रजंग शाह, कालिकोटकै दिपेन्द्रबहादुर शाह, र कैलाली घर भएका हेमबहादुर शाहीको पृष्ठभूमि जानकारी गराउन पत्राचार गरेको हो ।
सिंगापुर इन्टरपोलले पठाएको पत्रमा भनिएको छ, “उनीहरूको गतिविधि के कस्तो छ रु कुनै अपराधिक घटनामा संलग्न भएको जानकारी छ भने उपलब्ध गराइदिनू होला । र, आतंकवादमा संलग्न व्यक्ति तथा समूहका लागि आर्थिक गतिविधि गर्ने र सिंगापुरसँग जोडिएको विषयमा जानकारी छ भने त्यो पनि उपलब्ध गराइदिनु हुन अनुरोध छ ।”
इन्टरपोल सिंगापुरले पत्राचार गरेका हेमबहादुर शाही डीएसपी भएको खुलेको छ । डीएसपीकै पृष्ठभूमि सिंगापुर प्रहरीले मागेपछि प्रहरी प्रधान कार्यालयका उच्च अधिकारी र इन्टरपोेल शाखामा कार्यरतहरू स्वयम् झस्किएका छन् ।
प्रहरी स्रोतका अनुसार, लामो समयदेखि दुबई मलेसिया बस्दै आपराधिक क्रियाकलापमा संलग्न रहेको आशंकामा महेन्द्रजंग शाहमाथि अरू देशका प्रहरीले निगरानी गरिरहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।
उनीमाथि नेपालमा समेत वैदेशिक रोजगारीको प्रलोभन देखाउँदै ठगी गरेको उजुरी प्रहरीमा छ ।
उनै शाहसँग केही समयअघि सिंगापुरमा डीएसपी हेमबहादुर शाही समेत घुमफिर गरेको तस्बिर सिंगापुर प्रहरीले पाएपछि उनको क्रियाकलापमाथि समेत चासो देखाएको हो ।
प्रहरी स्रोतले भन्यो, ‘‘डीएसपी शाहीको कुनै विदेशी आपराधिक गिरोहसँग सम्बन्ध छैन । तर, महेन्द्र शाहमाथि सिंगापुर प्रहरीले निगरानी गरेको रहेछ । उनीसँगै शाहीको फोटो देखेपछि उनको पृष्ठभूमि पनि मागेका हुन् ।’’
प्रहरीका अनुसार, महेन्द्र लामो समयदेखि नेपालमा अवैध मानिएको क्रिप्टो कारोबारमा समेत देखिएका थिए । उनीमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले समेत निगरानी गरेको थियो ।
तर उनी अधिकांश समय नेपालभन्दा बाहिरी देशमै बस्ने गरेका कारण पक्राउ पर्नबाट जोगिँदै आएका छन् । सीआईबीका एक अधिकारीका अनुसार, महेन्द्रले क्रिप्टो कारोबार, अनलाइन ग्याम्लिङ र ‘हाइपर फण्ड’मार्फत अवैध कारोबार गर्ने गरेको सूचना छ ।
महेन्द्र शाहले भियतनामी युवतीसँग विवाह गरेर दुबई, मलेसियालगायतका देश बस्ने गरेका छन् । उनलाई करिब आठ वर्षअघि नै मलेसियाबाट डिपोर्ट गरेर त्रिभुवन विमानस्थलस्थित प्रहरीलाई जिम्मा लगाएको समेत खुलेको छ ।
मलेसियामा कार्यरत रहेका एक पूर्वराजदूतका अनुसार, महेन्द्रले त्यहाँको पासपोर्ट डिमार्टमेन्टको सेटिङमा करिब २ सय नेपालीलाई नक्कली स्ट्याम्पदेखि स्टिकरसमेत नक्कली टाँसेर भिजिट भिसामा मलेसिया पुगेका नेपालीलाई लामो समय राखेको खुलेको थियो ।
मलेसियाबाट डिपोर्ट भएका उनी फेरि पछि अर्को पासपोर्ट प्रयोग गरी मलेसिया पुगेका थिए । उनीसँग जोडिएका डीएसपीसमेत विवादित छविका प्रहरी अधिकारी हुन् । उनले प्रहरी निरीक्षकको तालिममै प्रहरी आचरणविपरीत काम गरेको आरोपमा नसिहत पाएका थिए ।
त्यसपछि इलाका प्रहरी कार्यालय बेलौरी प्रमुख हुँदासमेत विवादित हुँदा स्थानीयले प्रहरी कार्यालयमाथि नै ढुंगामुढा प्रहार गरेका थिए । त्यस्तै कोहलपुर प्रहरी प्रमुख हुँदा समेत तरुण दलका एक कार्यकर्तालाई गोली हान्ने धम्की दिएपछि विवादित बनेका थिए ।
हाल उनी सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत छन् ।
प्रतिक्रिया