काठमाडौँ । अन्ततः राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले आफुलाई निष्काशन गर्ने निर्णयका विरुद्ध पार्टीकै समितिमा पुनरावेदन गरेका छन् । उनले महामन्त्री पदमा बहाली होस् भन्दै पार्टीको पुनरावेदन समितिमा पुनरावेदन गरेको जानकारी दिएका हुन् ।
‘महामन्त्री पदबाट पदमुक्त गरिएको भनिएको दिनको आज ३५ औँ दिन पुग्छ मलाई पत्र प्राप्त भएको मितिबाट । त्यसको पुनरावेदन गरेको छु‚’ उनले भने‚‘ साधारण सदस्यबाट हटाइएको भनिएको निर्णयविरुद्ध नभई महामन्त्री पदबाट हटाइएको भनिएको निर्णयविरुद्ध पार्टीकै पुनरावेदन समितिमा पुनरावेदन गरिएको हो ।’
उनले पुनरावेदन पत्रमा तथ्य र कानुनी व्यवस्था एवं सर्वोच्च अदालतबाट प्रतिपादित कानुनी सिद्धान्त समेतको आधारमा व्यक्तिगत पूर्वाग्रह राखी प्रतिशोध लिने दूषित अभिप्राय एवं उद्देश्यबाट आफूलाई कारबाही गरेको बताए ।
‘पार्टी पदको दुरुपयोग गरी पार्टी विधान एवं कानुन विपरीत केन्द्रीय समितिको बैठक बसी म उपर कारबाही गर्दा सफाइ पेस गर्ने मौका समेत प्रदान नगरेको, निर्णय माग गर्दा निर्णय उपलब्ध समेत नगराई मलाई पार्टीको महामन्त्री, प्रवक्ता तथा केन्द्रीय समितिको सदस्यबाट पदमुक्त गर्ने गरी भएको मिति २०८१/०३/२५ को कथित निर्णय त्रुटिपूर्ण रहेको हुँदा पार्टीको निर्णय अभिलेखबाट हटाई साबिक बमोजिम साबिककै पदीय हैसियतमा रही पार्टीमा काम गर्ने वातावरण मिलाई पाउँ‚’ उनले लेखेका छन् ।
प्रतिक्रिया