वर एण्ड बधु फिल्म हेरेपछि राजेन्द्र लिङ्देनले भने, ‘गज्जब बनेको छ’

वर एण्ड बधु फिल्म हेरेपछि राजेन्द्र लिङ्देनले भने, ‘गज्जब बनेको छ’



ललितपुरको लाबिम मलमा बुधबार प्रिमियर गरिएको चलचित्र बर एण्ड बधु उत्कृष्ट बनेको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बताएका छन् । थुप्रै कलाकारका साथमा बसेर चलचित्र हेरिसकेपछि प्रतिक्रिया दिँदै उनले नेपाली चलचित्रलाई सबैले माया गर्नुपर्ने पनि बताए । निर्देशक मिलन चाम्सले प्रिमियरलाई भव्य बनाउनका लागि कुनै कसर बाँकी राखेका थिएनन् । ‘रेड कार्पेट मिरर वाक’ प्रिमियर नाम दिइएको कार्यक्रममा फिल्म क्षेत्रका फिल्मीकर्मी, पत्रकार र राजनीतिज्ञहरूको उपस्थिति थियो ।

एलआरके इन्टरटेन्मेन्टको व्यानरमा निर्माण भएको फिल्म हेर्नका लागि वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, नायिका मिरुना मगर, कलाकार पशुपति राई, निर्देशक ज्ञानेन्द्र देउजा, दीपाश्री निरौला, सुयोग गुरुङ, हाँस्य कलाकारहरू केदार घिमिरे, जितु नेपाल, निर्माता सरोज न्यौपाने, कलाकार उषा रजक लगायत हल पुगेका थिए । यस्तै, फिल्मका मुख्य कलाकारहरू आँचल शर्मा, किरण केसी, विवेक कर्मचार्य, कुसुम शर्मा, विजु पार्की लगायत पनि त्यहाँ उपस्थित थिए ।
फिल्म हेरेपछि राप्रपाका प्रतिक्रिया दिँदै वरिष्ठ कलाकारद्वय हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले फिल्मको दृश्य, कथावस्तु, कलाकारको अभिनय र निर्देशकीय पाटोको तारिफ गरे ।

फिल्म हेरेपछि निर्देशक दीपाश्री निरौलाले समग्रमा फिल्म उत्कृष्ट बनेको बताइन् । यस्तै, कलाकार केदार घिमिरेले पनि फिल्म नै राम्रो बनेको प्रतिक्रिया दिए ।

निर्देशक सुयोग गुरुङले यस्तो फिल्म हेर्दा आफूलाई निकै रमाइलो लाग्ने भन्दै निर्देशक मिलन चाम्सले दर्शकको चाहना अनुसार फिल्म बनाएको प्रतिक्रिया दिए ।

नायिका मिरुना मगरले आँचल शर्मालाई यो भूमिका निकै सुहाएको प्रतिक्रिया दिइन् । उनले, आँचलको भूमिकाले दर्शकको मन जित्ने विश्वास व्यक्त गरिन् ।

फिल्म हेरेका अधिकांशले नव–नायक विवेक कर्माचार्यको कामको पनि खुलेरै तारिफ गरे । विवेक नयाँ नायक जस्तो नलागेको अधिकांशको भनाई थियो । शुक्रबारबाट रिलिजमा आउन लागेको फिल्मले मल्टिफेक्समा राम्रो शो पाएको छ।