मेलबर्न, अष्ट्रेलिया ।
अमेरिकाको भर्जिनियामा बसोबास गर्दै आएकी नेपाली नर्स ममता काफ्लेलाई हत्या गरेर उनको शव घिसार्दै बाहिर निकालिएको निष्कर्श प्रहरीले निकालेको छ । ममताको घरमा गरिएको अनुसन्धानमा यस्तो खुलेको हो । प्रहरीले ब्लूस्टार टेक्नोलोजीको प्रयोग गरेर चेकजाँच गर्दा त्यहाँ रगतका अवशेषहरु फेला परेका थिए । ब्लूस्टार टेक्नोलोजीमा केमिकल छर्किएपछि धोईपखाली गरिसकिएको ठाउँमा पनि कुनै रगतका कणहरु रहेको अवस्थामा त्यसको रंग परिवर्तन हुने गर्दछन् । जसलाई संकलन गरी त्यहाँ के भएको थियो भन्ने प्रमाण निकाल्न सकिन्छ ।
प्रहरीले गरेको अनुसन्धानमा ममता काफ्लेका पतिले उनलाई बेडरुममा नै हत्या गरेको आशंका गरेको छ । त्यसपछि उनको शवलाई घिसार्दै घरका विभिन्न ठाउँमा लगिएको र शव घर बाहिर समेत लगिएको प्रहरीको अनुमान छ ।
अदालतमा पेश गरिएको विवरणमा प्रहरीले निज नरेश भाटले घटनापछि नजिकैको सपिंग सेन्टरबाट सरसफाईमा प्रयोग हुने सामग्रीहरु खरिद गरेको पाइएको थियो । सपिंग सेन्टरको सीसीटिभीको अध्ययनपछि यी प्रमाण सार्वजनिक भएका हुन् ।
यस्तै घटनाको केही अघि तीन वटा धारिलो चक्कुहरु खरिद गरेको समेत पाइएको छ । जसमध्ये एउटामात्रै चक्कु घरमा फेला परेको थियो ।
अनुसन्धानकर्ताहरुले बेडरुमको कार्पेटमा भेटिएको रगतको पुछिएको टाटाहरुलाई पछ्याउँदै जाँदा त्यो बाथरुममा समेत भेटिएको थियो । अनुसन्धानकर्ताहरुले बाथरुममा रहेको टबलाई हटाउँदा त्यहाँ समेत रगतका अवशेष भेटिएका थिए ।
निज नरेश भाटलाई हाल धरौटीमा छुट्न नसक्नेगरी हिरासतमा राखिएको छ । हालसम्म निजलाई आफ्नी श्रीमतीको शवलाई गायब बनाएको अभियोग लगाएको छ । ममताका श्रीमान नरेश भाटले हालसम्म यो हत्या गरेको स्वीकार गरेका छैनन् । प्रहरीले पनि शव बरामद नभएको अवस्थामा अनुसन्धान जारी राख्दै हाल प्राप्त प्रमाणलाई नै अदालतमा पेश गरेको छ । निज भाटको बचाउमा वकिलले नरेशले भाग्ने पर्याप्त अवसर पाउँदा पनि नभागेको जिकिर प्रस्तुत गरेका थिए भने । बेडरुममा भेटिएको पदार्थ रगत नहुनपनि सक्ने र यसको अनुसन्धानमा समय लाग्ने लगायतको तर्कहरु गरेका थिए ।
काममा रहेका साथीभाईले खबर गरेपछि ममताको हाल बुझ्न अगष्ट २ तारिखमा घरमा पुगेको प्रहरीलाई निजले ममता आफन्तकोमा गएको हुनसक्ने, यसअघि पनि यसैगरी हराउने गरेको गलत सूचना दिएर दिग्भ्रमित पार्ने प्रयास गरेका थिए । चौतर्फी दबाब बढेपछि निजले अगष्ट ५ तारिख मात्रै प्रहरीमा उजुरी दिएका थिए । प्रहरीलाई नरेश भाटले श्रीमती हराउनुअघि फोन समेत फुटेको भनी झुठो बोलेका थिए । निजले सोमबार आफ्नो टेस्ला गाडी बेच्ने प्रयास गरेको र घर समेत बिक्रीकालागि दुईजना सँग कुरा गरेको पाइएको प्रहरीले जनाएको छ । प्रहरी घरमा पुग्दा सामानहरु सुटकेसमा प्याक गरिसकिएको र छोरी र आफ्नो पासपोर्ट देखिने ठाउँमा राखेको प्रहरीले फेला पारेको थियो । निजलाई आगामी अक्टोबर २४ तारिखमा फेरि अदालतमा पेश गरिने भएको छ ।
निज नरेश भाट अमेरिकी सेनाअमेरिकी सेनाको पूर्वकर्मचारी रहेको बताइएको छ । ममताको फेसबुकमा समेत निजले अमेरिकी सैनिकको पोशाक लगाएको तस्वीरहरु भेटिएका छन् ।
यसैबीच, ममताका दाजु र आमा अमेरिका जाने भएका छन् । ईमर्जेन्सी भिसा लागेपछि उनीहरु त्यसतर्फ जान लागेका हुन् । ममताको छोरी यतिबेला सरकारी निकायको रेखदेखमा छिन् । ममताको छोरीको सहयोगका लागि उनका साथीभाईले सञ्चालन गरेको गोफन्डमीमा यो समाचार तयार पार्दा सम्म १ लाख २६ हजार अमेरिकी डलर सहयोग जुटिसकेको छ ।
प्रतिक्रिया