मेलबर्न, अष्ट्रेलिया ।
एक साताभन्दा लामो अष्ट्रेलियाको भ्रमण सकेर राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन स्वदेश फर्किएका छन् । अष्ट्रेलियामा रहेको आफ्नो पार्टीको प्रवासी संस्था नेपाली प्रवासी एकता समाजको निमन्त्रणामा आएका उनले मेलबर्न, सिड्नी, एडिलेडको भ्रमण सम्पन्न गरे । यी स्थानमा आयोजना गरिएको नागरिक अन्तरक्रियामा सहभागी भए । राजनीतिक रुपमा ठूला दलहरुले देश विगारेको आरोप लगाएपनि उनले उत्ताउलो कुनै भाषण गरेनन् ।
देश विकासका लागि राजनीति परिवर्तन हुनुपर्ने र त्यसका लागि आफुहरुले लिएको विचार नै उत्तम हुने धारणा उनले अधिकांश कार्यक्रमहरुमा दोहोराए । मेलबर्नमा आयोजना गरिएको कार्यक्रममा आफु अष्ट्रेलियावासी नेपालीहरुसँग गुहार माग्न आएको बताएका लिङदेनले सिड्नीमा आयोजना गरिएको अन्तरक्रियामा उनले नेपाल नबन्नुपर्ने कुनै कारण नरहेको बताएका थिए ।
झापाली समाज अष्ट्रेलियाले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी भएका उनले गएको साढे तीन दशकबीचमा विश्वका धेरै देशले प्रगति गरेको र नेपालका युवालाई रोजगारी दिने क्षमतामा पुगेको तर नेपाल भने अघि बढ्न नसकेको र यसको कारण अहिले नेतृत्व गरिरहेका शीर्ष नेताहरु नै भएको उनको भनाई थियो ।
कार्यक्रममा उनले राप्रपामा प्रवेश नै गर्नुभन्ने आफ्नो आग्रह नरहेको तर नेपालमा हुँदा बाँधिएको राजनीतिक बन्धनबाट भने मुक्त हुन अनुरोध गरेका थिए ।
उनले भने, “म जीविसको सभापति दुई पटक भएको थिएँ ।” आफ्ना पूर्वसहकर्मी साथी दिनेश पोखरेललाई देखाउँदै उनले थपे, “सभापति छोड्दा साथीभाईलाई चिया खुवाउने पैसा समेत थिएन । उल्टै कर्मचारीहरुसँग १७ हजार मागेर पछि सकेको बखत तिर्छु भनेर हिंडेको थिएँ ।” भ्रष्टाचारका विरुद्ध आफु सदैव लाग्ने र आफ्नो जीवन पारदर्शी रहेको उनले उक्त अवसरमा जानकारी गराएका थिए । मन्त्री हुँदा पनि सुरक्षाकर्मी लिएर हिंड्न अप्ठेरो लाग्ने गरेको उनको भनाई थियो ।
सिड्नीमा रहँदा उनले ब्लू माउन्टेनको अवलोकन भ्रमण गरेका थिए भने झापा जिल्लावासीले सिड्नीमा आएर सञ्चालन गरेको विभिन्न व्यवसायहरुको समेत अवलोकन गरेका थिए । अध्यक्ष लिङदेनले सिड्नी बसाईकै क्रममा नेप्लीज अष्ट्रेलियन युथ एशोसिएसन नयाको साधारणसभाबाट निर्वाचित विपिन थापा नेतृत्वको टिमलाई भेटेरै बधाई समेत दिएका थिए ।
यस्तै सिड्नी बसाईका क्रममा अध्यक्ष लिङदेन ले गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले हालै खरिद गरेको आफ्नै कार्यालय भवनको समेत अवलोकन गरे । उनलाई एनआरएन अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल र झापाकै चेली एवं एनआरएनकी संस्थापकमध्येकी एक ईन्द्रा वनले कार्यालयमा स्वागत गरेका थिए ।
शनिबार विहान स्वदेश फर्कदै गर्दा उनले आफुले जुन उद्देश्य लिएर अष्ट्रेलिया आएको त्यो सफल भएको धारणा राखेका थिए ।
प्रतिक्रिया