सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसँग शुक्रबार सात घण्टा बयान लिएको छ । दिउँसो ४ बजेदेखि सुरु भएको बयान राति ११ बजेसम्म चलेको थियो । ५० वटा प्रश्न लिएर बसेका समितिका टोलीले उनलाई सहकारीको विषयमा प्रश्न सोधेका थिए ।
बयानका क्रममा लामिछानेले सबै आरोप आफुसँग सम्बन्धित नरहेको बताएका थिए । उनले आर्थिक विषयको जवाफ आफुले दिन नसक्ने यसको लागि जीवी राई नै जिम्मेवार रहेको बताएका हुन् ।
लामिछानेले आफू गोरखा मिडियामा रहँदा आर्थिक हिसाबको पाटो राईले नै सम्हालेकाले यसबारे आफू जिम्मेवार नरहने समेत बताएका थिए ।
प्रहरी अनुसन्धानबाट जीबी राई र उनको समूहले सञ्चालन गरेका सहकारीहरूबाट अर्बभन्दा बढी रकम टिभीमा लगानी गरेको भेटिएको थियो । लामिछाने राजनीतिमा आउनुअघि गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकका रुपमा १५ प्रतिशत शेयर लिएर प्रवेश गरेको तथ्य यसअघि नै बाहिरिइसकेको छ । उक्त शेयर स्वेट शेयर भएको जिकिर लामिछानेले गर्दै आएका छन् ।
शुक्रबारको समिति बैठकमा गोरखा मिडिया नेटवर्कमा गएको सहकारीको रकम, लामिछानेको नाममा भएको रकम डिपोजिट र गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिबी राईसँगको सम्बन्धरसहकार्यका वरिपरि प्रश्नहरूको सूची बनाएको थियो । पत्रकारहरुसँग कुराकानी गर्दै समिति सभापति सूर्य थापाले लामिछानेको राईसँगको सम्बन्ध र आर्थिक कारोबारका विषयलाई लिएर प्रश्न सोधिएको प्रस्ट पारे ।
बयानका क्रममा लामिछानेले गलत नियतका साथ केही नगरेको र आर्थिक कारोबार सबै राईले नै हेरेकाले त्यसको उत्तरदायी राई स्वयं हुनुपर्ने जिकिर गरेका थिए । उनले आफू गोरखा मिडियामा हुँदा प्रशासनिक कार्यमा मात्रै व्यस्त हुने गरेको बयान समितिमा दिएका छन् ।
लामिछाने जोडिएको पोखराको सुर्यदर्शन, बुटवलको सुप्रिम सहकारी, चितवनको सहारा, काठमाडौँको स्वर्णलक्ष्मी सहकारीबाट गोरखा मिडिया नेटवर्कमा गएको रकमका विषयमा समेत उनले हस्ताक्षर, आफ्नो कागजात, नागरिकतासहितका विवरण समावेश नरहेको दाबी समितिमा गरेका छन् ।
प्रतिक्रिया