आज रास्वपाको केन्द्रीय कमिटी बैठक, मुकुल ढकाललाई थप कारवाही हुने

आज रास्वपाको केन्द्रीय कमिटी बैठक, मुकुल ढकाललाई थप कारवाही हुने



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठकबाट पूर्वमहामन्त्री डा मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी निष्काशनको तयारी गरिएको छ । आजबाट पार्टी कार्यालय वनस्थलीमा सुरु हुने केन्द्रीय समिति बैठकमा ढकालको निष्काशनबारे छलफल गरेर आवश्यक निर्णय गर्न लागिएको हो ।
एक पदाधिकारीले आजको बैठकबाट ढकालको विषयमा निर्णय गर्नुपर्ने अवस्था रहेको बताए । ‘समय रहे निर्णय गर्छौं । उहाँ साधारण सदस्य नरहने गरी कारबाही हुने सम्भावना बढी छ ।’

पार्टी हितविपरीतको गतिविधि गरेको भन्दै उनलाई महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट हटाइएसँगै निरन्तर सभापति रवि लामिछानेका विरुद्ध कडा अभिव्यक्ति दिँदै आएका छन् । उनीसँग पार्टीले दुई पटक स्पष्टीकरण समेत सोधिसकेको छ ।

असार तेस्रो साता बसेको पार्टीको केन्द्रीय समिति बैठकले ढकाललाई महामन्त्री, पार्टी प्रवक्ता तथा केन्द्रीय समिति सदस्यबाट समेत पदमुक्त गर्दै साधारण सदस्यमात्रै कायम गरेको थियो ।

केन्द्रीय अनुशासन आयोगको हदैसम्मको कारबाही गर्नुपर्ने सिफारिसलाई ध्यानमा राखी उनलाई पदमुक्त गर्ने निर्णय बैठकले गरेको त्यतिबेला कार्यबाहक प्रवक्ता मनिष झाले बताएका थिए ।

केन्द्रीय समितिको निर्णय चित्त नबुझे ढकालले ३५ दिनभित्र पुनरावेदन गर्ने मौका पाउने बताइएपनि उनले यो बीचमा पार्टीलाई चुनौती दिँदै गतिविधि गर्दै आइरहेका छन् । उनको गतिविधिले पार्टीलाई क्षति पुगिरहेकाले अब पार्टीको साधारण सदस्य समेत कायम गर्न सक्ने अवस्था नरहेको नेताहरूको भनाइ छ ।