मेलबर्नमा रक्षाबन्धनको रौनक, ग्लेनरोय र नेपाली मन्दिरमा दर्शनार्थीले लगाए डोरो

मेलबर्नमा रक्षाबन्धनको रौनक, ग्लेनरोय र नेपाली मन्दिरमा दर्शनार्थीले लगाए डोरो



मेलबर्न, अष्ट्रेलिया ।

सोमबार नेपाली परम्परा अनुसार रक्षाबन्धन पर्व अष्ट्रेलियामा पनि पवित्र डोरो बाँधेर अनि तागाधारीहरुले जनै फेरेर मनाएका छन् । पछिल्लो समय यहाँको स्थानीय सरकारहरुसँगको सहकार्यमा नै नेपाली चाडवाड मनाउने क्रम पनि बढेको छ । यसैक्रममा अष्ट्रेलियाको मेलबर्नस्थित ग्लेनरोयमा कला एकेडेमीको आयोजनामा रक्षाबन्धन र जनै वितरण सम्पन्न गरिएको छ । संस्थाका अध्यक्ष समिर पन्तका अनुसार स्थानीय ज्याक रुपर रिजर्भमा कार्यक्रम गरिएको थियो ।

ग्लेनरोय नेपालीहरुको घना बसोबास भएको क्षेत्र मानिन्छ । यहाँ बसोबास गर्ने नेपालीहरुको घरमा नेपालबाट आएका अभिभावकहरुको लागि यो चाड मनाउने परम्परा निकै आकर्षक भएको अध्यक्ष पन्तले बताए । उनका अनुसार दिनभरिमा करिब तीन सय भन्दा बढीले कार्यक्रममा सहभागिता जनाएका थिए ।

जसमा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले पनि कार्यक्रमको सफलताको कामना गर्दै सहभागिता जनाएको पन्तले जानकारी दिए । यो कार्यक्रम सञ्चालन गर्नका लागि स्थानीय मेरीबेक काउन्सिलले कला भिक्टोरियालाई तीन हजार डलर सहयोग प्रदान गरेको थियो ।

यस्तै अष्ट्रेलियन नेप्लीज मल्टिकल्चरल सेन्टर अर्थात् मेलबर्नको नेपाली मन्दिरमा पनि विहान ७ बजेदेखि बेलुका ७ बजेसम्म जनै, यज्ञोपवित र डोरो बाँधेर रक्षाबन्धन गरिएको छ । दिनभरिमा सैयौं दर्शनार्थीले मन्दिरमा भ्रमण गरेका थिए । उक्त अवसरमा बालव्यास श्रवण लगायत मन्दिरका नियमित पूजारीहरुले रक्षाबन्धन गरिदिएका थिए ।