राष्ट्रिय भेला गर्ने तयारीमा रास्वपा, असोज १ र २ गते मन्थन गर्ने !

राष्ट्रिय भेला गर्ने तयारीमा रास्वपा, असोज १ र २ गते मन्थन गर्ने !



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी असोज १ र २ गते राष्ट्रिय भेला गर्ने भएको छ । राष्ट्रिय परिषद् बैठक नाम दिइएको यो भेलामा नीतिगत, वैचारिक, सांगठनिक स्पष्टता दिने प्रयास गरिने भएको छ । सत्ताबाट हटे लगत्तै विभिन्न ठाउँमा बन्द भेला गरेको रास्वपाले महामन्त्री मुकुल ढकालको विद्रोहपछि भएको क्षतिलाई कसरी कम गराउने भन्ने विषयमा केन्द्रित रहेर तयारी गरिरहेको छ । भेलामा को को सहभागी हुने भन्ने विषय खुलाइएको छैन । तर, वडा तहदेखि नै आबद्ध भएका कार्यकर्तालाई आमन्त्रण गरिने बुझिएको छ । विचार, संगठन, संसदीय मामिला, अभियान, मूल्य–मान्यता, उम्मेदवार क्लबरलिडरसिप एकेडेमी, विधान संशोधन भेलाको मुख्य एजेन्डा हुनेछ ।
मिनि अधिवेशनको झल्को हुने भेलामा सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेश गर्नेछन् । सहभागीमध्ये सानो सानो टिम बनाएर त्यसको संयोजकको भनाई राख्ने अवसर दिइने तयारी छ ।
जलेश्वरको बैठकबाट रास्वपाले पारित गरेको नीति प्रस्तावनामा शान्तिपूर्ण मार्गबाट समाजवादका प्रधान लक्ष्यहरु प्राप्त गर्ने उल्लेख गरिएको थियो । पार्टीको शक्ति प्रदर्शन गर्ने लक्ष्य राखिएको यो भेलापछि आम कार्यकर्ता र सर्वसाधारणमा देखिएको पार्टीप्रतिको धारणामा परिवर्तन आउने स्वतन्त्र पार्टीका नेताहरु बताउँछन् ।