हामी अष्ट्रेलियामा गुहार माग्न आएका छौं : राप्रपा अध्यक्ष लिङ्देन

हामी अष्ट्रेलियामा गुहार माग्न आएका छौं : राप्रपा अध्यक्ष लिङ्देन



मेलबर्न, अष्ट्रेलिया । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रवासी नेपालीहरुसँग गुहार माग्न आफु अष्ट्रेलिया आएको बताएका छन् । उनले गत चुनावको दृष्टान्त प्रस्तुत गर्दै चुनावका बेला भोट माग्न जाँदा अर्कै पार्टी समर्थक मतदाताले समेत आफुलाई विदेशमा बस्ने छोराले सिफारिश गरे अनुसार नै राप्रपालाई भोट हाल्ने बताएपछि देश बाहिरबाट समेत नेपालको राजनीतिमा महत्वपूर्ण योगदान सम्भव रहेछ भन्ने लागेको बताए ।

उनले नेपाल दुईवटा भएको भन्दै नेपालको भूगोलभित्रको नेपाल र नेपाल बाहिर विश्वभरि छरिएर रहेको नेपाल भावनाको नेपाल भएको धारणा राखे । उनले आगामी निर्वाचनमा राप्रपाले लिएको हिन्दू राष्ट्र र राजसंस्थासहितको नवीन समझदारीको एजेन्डालाई साथ दिन यहीँबाट पनि पहल गरिदिन सहयोग मागे । उनले भने, “चुनावमा तिनै भ्रष्ट, देश विगारेका पार्टी र नेताहरुलाई चन्दा नदिनुहोस् ।” विदेशबाट नेपालीले पठाएको चन्दा नेपालमा भोट किन्न खर्च हुने गरेको उनले बताए ।

राप्रपाको प्रवासी संगठन प्रवासी नेपाली एकता समाज स्थापनाको पाचौं वार्षिकोत्सव पारेर मेलबर्नमा आयोजना गरिएको कार्यक्रममा राप्रपाका नेताहरु भक्ति सिटौला, आनन्द अधिकारी र हिक्मतजंग कार्की समेत सहभागी थिए । उक्त अवसरमा भिक्टोरियाका लागि नेपाली अवैतनिक वाणिज्यदूत निराजन गौली, जनसम्पर्क समिति अष्ट्रेलिया, प्रवासी नेपाली मञ्च अष्ट्रेलिया र नेपाली जनप्रगतिशील मञ्चका प्रतिनिधिहरुले स्वागत गरेका थिए । लिङ्देनलाई उनको स्वच्छ छविका कारण आगामी दिनमा प्रधानमन्त्रीमा देख्न चाहेको समेत वक्ताहरुले धारणा राखेका थिए । कार्यक्रमका संयोजक एवं आयोजक संस्थाका अष्ट्रेलिया अध्यक्ष सुन्दर कार्कीका अनुसार लिङ्देनले मेलबर्नपछि एडिलेड र सिड्नी तथा क्यानबेराको भ्रमण गर्नेछन् । उक्त अवसरमा भिक्टोरियाको समूदायमा रहेर विभिन्न योगदान दिने सदस्यहरुलाई सम्मान पनि गरिएको थियो ।

कार्यक्रममा बोल्दै एनआरएनका पूर्वअध्यक्ष शेष घलेले नेपालमा उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री भएका बेला आफ्नो अध्यक्ष लिङ्देनसँग भेट भएको स्मरण गर्दै विदेशबाट जाने लगानीकर्ताहरुलाई सहज परिस्थिति नरहेको दुखेसो गरेका थिए । “एउटै कम्पनीले २ सय मेगावाट विजुली खपत गर्नेगरी र हाईड्रोजन ईन्धन उत्पादन गर्नेगरी प्रस्ताव लैजाँदा नेपालमा यस सम्बन्धी नीति नै नरहेको थाहा भयो ।” घलेले प्रवासमा बस्ने नेपाली र विदेशी लगानीकर्ताहरुका समस्यालाई समाधान गर्न राप्रपाले पहल गरोस् भन्ने आग्रह गरेका थिए ।

उक्त अवसरमा बोल्दै प्रवासी नेपाली एकता समाजका संस्थापक अध्यक्ष अजय राजवंशीले ५ वर्षअघि मेलबर्नमा नै स्थापना भएको संस्थालाई यहाँको समूदाय र समाजले देखाएको सद्भावका लागि धन्यवाद दिएका थिए । कार्यक्रमअघि शनिबार अध्यक्ष राजेन्द्र लिंगदेनसहितको टोलीले अष्ट्रेलियाको नेपाली मन्दिर, बहुसांस्कृतिक केन्द्रको अवलोकन गरेको थियो । यस्तै आईतबार टोलीले मेलबर्नको पूर्वी क्षेत्रमा रहेको पशुपति मन्दिर पनि भ्रमण गरेको थियो ।