कला एकेडेमीले ग्लेनरोयमा जनैपूर्णिमा विशेष गर्ने, डोरो र जनै वितरण

कला एकेडेमीले ग्लेनरोयमा जनैपूर्णिमा विशेष गर्ने, डोरो र जनै वितरण



मेलबर्न, अष्ट्रेलिया ।

मेलबर्नमा स्थापना भएको कल्चर, आर्ट एण्ड ल्यांग्वेज एकेडेमी कलाले जनैपूर्णिमाको अवसरमा विशेष कार्यक्रम गर्ने भएको छ । विगत केही वर्षदेखि ग्लेनरोयमा अवस्थित पार्कमा सञ्चालन गरिएको जनैपूर्णिमा विशेष कार्यक्रममा पण्डित शंकर गौतम र रविन अर्यालले उपस्थित हुने ईच्छुकलाई जनैपूर्णिमाको डोरो र जनै वितरण गर्नेछन् ।

अष्ट्रेलियामा आफ्नै तवरमा जनैपूर्णिमा मनाउने गरिएपनि भिक्टोरियाको ह्युम सिटी काउन्सिलले कला एकेडेमीलाई यस वर्ष जनैपूर्णिमा मनाउनकै लागि अनुदान दिएको संस्थाका अध्यक्ष समिर पन्तले जानकारी दिए ।

उनले केविसीखबरसँग भने, “हाम्रो चाडवाड मनाउन हामीले नै जमर्को गरेका थियौं । अघिल्ला पटकहरुमा डेढ सय हाराहारी नेपाली दाजुभाईहरुको उपस्थिति भयो । यसलाई अझै भव्य बनाउने योजनाका साथ हामी अगाडि बढेका छौं । यसक्रममा स्थानीय ह्युम सिटी काउन्सिलले यो पर्व मनाउन हामीसँग सहकार्य गरेको छ ।”

पन्तले कार्यक्रममा उपस्थित हुनेलाई जनै, डोरो टीका सहित प्रसादको समेत व्यवस्था गरिएको जनाएका छन् । जनैपूर्णिमाकै दिन मेलबर्नको नेपाली मन्दिर नामले परिचित अष्ट्रेलियन नेप्लीजन कम्युनिटी सेन्टरमा पनि जनै वितरण र डोरो लगाइदिने तयारी भएको छ ।