सिड्नीबाट हराएका सुभाष अझै भेटिएनन, खोजीदिन परिवारको अपिल

सिड्नीबाट हराएका सुभाष अझै भेटिएनन, खोजीदिन परिवारको अपिल



सिड्नी, अष्ट्रेलिया ।
सिड्नीबाट बेपत्ता भएका नेपाली युवा सुभाष बोलाखे अझै फेला परेका छैनन् । गत जुलाई २७ तारिखका दिन अन्तिम पटक बेक्स्ली क्षेत्रमा देखिएका उनलाई प्रहरीले खोजी गरिरहेको छ ।

न्यूसाउथवेल्स प्रहरीले उनको खोजी भइरहेको जनाएपनि परिवार भने नेपालमा तनावमा छन् । केविसीखबरसँगको सम्पर्कमा आएका उनका भाई सुरेन्द्र बोलाखेले सबै प्रयासका बाबजुद अहिलेसम्म दाजु सम्पर्कमा नआएको भन्दै अष्ट्रेलियामा रहेको नेपाली समूदायलाई खोजीदिन अनुरोध गरेका छन् ।

१० महिनाअघि अष्ट्रेलिया अध्ययनका लागि आएका सुभाष निरन्तर परिवारकै सम्पर्कमा थिए । उनीसँगै बस्दै आएका एकजना साथी विवाहका लागि नेपाल गएको समयमा घटना भएका कारण उनी कसैलाई केही नभनी सम्पर्कबाहिर छन् ।
भाई सुरेन्द्रले केविसीखबरसँग भने, हामीले यहाँ रहेको अष्ट्रेलियन दूतावासमा पनि यो विषय उठाएका छौं । खोजीदिन हारगुहार गरेका छौं ।
नेपालमा काभ्रे घर भएका २८ वर्षीय सुभाषलाई कोग्रा प्रहरीले सिड्नी सिविडी, कोग्रा, बालमियान, बेक्स्ली क्षेत्रमा आवत जावत गरेका कारण यिनै क्षेत्रमा खोजी अघि बढाएको जनाएको छ ।

न्यूसाउथवेल्सका लागि नेपाली वाणिज्यदूत सञ्जीव शर्माले सिड्नीमा रहेको नेपाली समूदायलाई सुभाषलाई कुनै अवस्थामा कतै देखेको भए तत्कालै कोग्रा प्रहरीमा सम्पर्क गरिदिन अनुरोध गरेका छन् ।