एडिलेड, साउथ अष्ट्रेलिया ।
अहिले तीजको माहोल छ, सेप्टेम्बरको पहिलो सातामा तीज भएपनि अगष्टको पहिलो साताबाट नै तीजका कार्यक्रमहरु हुन थालिसकेका छन् । तीजको अवसरमा अष्ट्रेलियाको विभिन्न शहरका भएका कार्यक्रममा उपस्थिति पनि उल्लेखनीय देखिन्छ ।
यस पटक अष्ट्रेलियाको तीज कार्यक्रममा एक महिनाभन्दा लामो टूर लिएर कलाकारहरु पनि सहभागी भइरहेका छन् । एकातिर कोमल ओलीको टोली छ भने अर्कोतर्फ पशुपतिशर्माको कन्सर्टको लिष्ट सार्वजनिक छ । उता खुमन अधिकारी र प्रिती आले पनि विभिन्न शहरमा कार्यक्रम गर्दैछन् । त्यस्तै देवी घर्ती, रुविना अधिकारीका पनि विभिन्न शहरमा कार्यक्रम तय छन् ।
अष्ट्रेलियामा तीजलाई विशेष बनाउने यी कलाकारहरु एडिलेडमा भने एकै ठाउँमा एकैदिन उपस्थित हुने भएका छन् । गिरिश ईन्टरटेन्मेन्टले आयोजना गर्ने तीज धमाका कार्यक्रममा उनीहरुले एकैसाथ प्रस्तुति दिन लागेका हुन् । अगष्ट २९ तारिख बिहीबार आयोजना हुने कार्यक्रममा सहभागिता निःशुल्क गरिएको छ ।
स्थानीय उडभिल टाउनहलमा हुने कार्यक्रममा एक हजारभन्दा बढी दर्शक सहभागी हुने अपेक्षा रहेको आयोजक गिरिश ईभेन्टसका गगन गिरीले जानकारी दिए । कालीकोटे ज्वेलर्स र स्थानीय भ्वयः छेले कार्यक्रमको मुख्य प्रायोजन गरेको छ । कार्यक्रमस्थलमा तीजका गीतमा नाच्न रमाउने पाइने र नेपाली खानाको मज्जा लिन सकिने आयोजकले जनाएका छन् ।
प्रतिक्रिया