काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु एकाएक गुप्तबासबाट सार्वजनिक बसमा भेटिएका छन् । केन्द्रीय समितिको गोप्य बैठकमा पार्टीको रणनीति निर्माणमा जुटेका उनीहरुले कमिटीकै निर्णय अनुसार अब सार्वजनिक बसमा पाँच दिनसम्म हिंड्नेछन् । सभापति रावि लामिछानेदेखि नै सबै केन्द्रीय नेताहरु आफ्नो निजी सवारी साधनमा नचढ्ने नियम बनेको छ । पाँच दिनको अध्ययनपछि हामी सार्वजनिक यातायातको सुधारको योजना सार्वजनिक गर्छौं, एक केन्द्रीय सदस्यले जानकारी दिए ।
उपाध्यक्ष डीपी अर्यालले आफु त्रिपुरेश्वरमा भइरहेको भलिबल हेर्न सार्वजनिक यातायातमा नै पुगेको सार्वजनिक गर्दै भनेका छन्, यो नियमित गर्ने काम नै थियो । अझ बढी अध्ययनका हिसाबले यो गरिएको हो ।
केन्द्रीय समितिको बैठकमा विभिन्न समूहमा विभाजित भएर छलफल गरेका उनीहरुले निष्कर्शसहितको बैठक गरिरहँदा सभापति लामिछानेले अहिलेकै मितिदेखि पाँच दिन सार्वजनिक यातायात चढेर हेरौं, के समस्या भेटिन्छ तिनलाई समाधान गर्नेगरी अघि बढौं भनने प्रस्ताव राखेका थिए । यही प्रस्तावलाई पारित गर्दै सबैजना केन्द्रीय कार्यालयबाट आफ्नो घर सार्वजनिक यातायातको साधनमा हिंडेका हुन् ।
तोसिमा कार्की, रमेश प्रसाई, निशा डाँगी, रवि लामिछाने, कविन्द्र बुर्लाकोटी, उपाध्यक्ष डीपी अर्याल, स्वर्णिम वाग्ले लगायतले आफ्नो सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै पार्टीको निर्णय मानेको जनाउ दिएका छन् । कुनै आपतकालीन अवस्था आइपरेको बेलामा भने निजी सवारी साधन चढ्न छुट हुनेछ ।
प्रतिक्रिया