संसदमा स्वार्णिम वाग्ले आक्रोशित, राष्ट्रिय निष्ठामा प्रश्न नगर्न चेतावनी

संसदमा स्वार्णिम वाग्ले आक्रोशित, राष्ट्रिय निष्ठामा प्रश्न नगर्न चेतावनी


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले संसदमा नयाँ शक्तिमाथि गरिएको घेराबन्दीबारे आफ्नो असन्तुष्टि जनाएका छन् । उनको राष्ट्रिय स्वाभिमानमाथि प्रश्न गर्नेहरुलाई जवाफ दिँदै उनले यस्तो बताएका हुन् । एमाले सांसद रघुजी पन्तले स्वतन्त्र पार्टीको बैठकमा सांसद वाग्लेले भारतको पक्षधरता लिँदै अभिव्यक्ति दिएको आरोप लगाउँदै उनको राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठाएका थिए । जवाफमा वाग्लेले आफू र आफ्नो दल राजनीतिमा नयाँ संस्कार स्थापित गर्न आएको बताउँदै नयाँ दललाई पञ्चायत कालमा अराष्ट्रिय तत्त्व भन्ने जस्तो व्यवहार नगर्न आग्रह गरे । उनले आफू र आफ्नो दललाई कुनै खुफिया प्रमुखलाई मध्यरातमा भेट्न आवश्यक नभएको भन्दै एमालेका अध्यक्ष एवं वर्तमान प्रधानमन्त्रीप्रति कटाक्ष समेत गरे ।

“नेपालको इतिहास, सनातन सभ्यता, धार्मिक सांस्कृतिक विविधतामा आधारित सह–अस्तित्व र पारस्परिक सम्मान विश्वभर फैलिएका नेपालीहरूको सामूहिक सामर्थ्य डायस्पोरा, एसियाको उदाउँदो भूराजनीतिलाई आत्मसाथ गर्दै नेपालको भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधीनता र स्वाभिमानलाई सधैँ अक्षृण राख्नु नै राष्ट्रिय स्वतन्त्र पार्टीको अभीष्ट रहनेछ । कुरो नबुझ्ने, नबुझेपनि विषयान्तर गर्ने, हाकाहाकी झुटै बोल्ने । पञ्चायत कालमा कांग्रेस कम्युनिस्टलाई अराष्ट्रिय तत्त्व भनिन्थ्यो । २१ जनामा १९ जना हामी ५० मुनीका छन् । एउटा युवा शक्ति छ, विदेश पढेका छन् । अब यिनीहरूलाई भ्रष्टाचारको आरोप लगाउन त सक्नुहुन्न । अक्षमताको आरोप त लगाउन सक्नुहुन्न । पञ्चायत कालमा लगाएको अराष्ट्रिय तत्त्वको झैँ आरोप लगाइरहनु भएको छ त्यसको हामी डटेर सामना गर्छौं ।” उनले भने – “चीन ३५ वर्षअघि ३३३ डलरबाट अहिले प्रतिवर्ष प्रतिव्यक्ति आय १३ हजार पुगेको छ । नेपाल १८५ बाट १३ सयमा गएर अड्किएको छ । दसौँ लाख युवाहरू बाहिर गएका छन् । चरम नैराश्य छ । यो कस्तो खालको राष्ट्रवादले तपाईँहरूले यो देशलाई त्यहाँ पुर्‍याउनुभयो रु हामी छिमेकी राष्ट्रहरूको उन्नयनमा प्रगतिमा गाँसिएर आफ्नो सार्वभौमतालाई अक्षृण राख्दै आर्थिक लाभ लिने, हाक्का हाक्की संवाद गर्ने, आँखामा आँखा जुधाएर कुराहरू राख्ने, प्रधानमन्त्री नरेन्द्र मोदी १० वर्षअघि यहीँ बोलेर जानुभयो । २ वर्षअघि उहाँलाई भेट हुँदा–महामहिम एचईटी, हाइवे, इन्फोवे, ट्रान्सवे, त्यत्रो एजेण्डा लिनुभएको थियो तर त्यसले गति लिएन नि भनेर मैले उहाँलाई भनेँ । त्यतिखेर विदेशमन्त्री जयशंकर हुनुहुन्थ्यो, नाकाबन्दी लगाएर इन्डियाले हिस्टोरिक ब्लन्डर गरेको छ भनेको छु । चीनका मन्त्रीहरूलाई नक्सा फिँजाएर एयर कनेक्टीभिटीमा हामी किन चुक्यौँ भनेको छु । अर्को महिना १२ रास्वपा सदस्यको नेतृत्व गरेर चिनियाँ नेतृत्वसँग आमने सामने बहस गर्छु ।”

उनले संसदमा भनेका छन् “अरूको राष्ट्रवाद कागज र भाषणमा होला, मेरो देशभक्ति मेरो दैनिकीमा देखिन्छ । मेरो देशभक्ति उन्नत विकल्पहरू त्याग्दै मैले रोजेको असाधारण कर्ममा देखिन्छ । मेरो आग्रह छ, नयाँ शक्तिलाई गलाउने, झुकाउने, क्यारिकेचर बनाउँने, स्ट्रमान बनाएर झुट बोलेर पन्छाउन सकिन्छ भनेर कसैले नसोच्नुहोला । यसको लागि नैतिक उचाइ र वैचारिक बल चाहिन्छ, त्यो सायदै कम मानिसमा छ । त्यसैले तपाईँहरूले सक्नुहुन्न, यो कुरा गर्न सक्नुहुन्न । नेपालको हितलाई केन्द्रमा राखेर घण्टौँ बहस गर्न जोसुकैसँग तयार छौँ ।”