मेलबर्न, अष्ट्रेलिया । नेपाल सरकारले अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेललाई फिर्ता बोलाउँदै नयाँ राजदूत पठाउने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । अब अष्ट्रेलियामा कान्ता रिजालको नाम नयाँ राजदूतका रुपमा चर्चामा छ ।
नेपाली काँग्रेसको केन्द्रीय सदस्य रहेकी उनी केन्द्रीय नीति तथा प्रशिक्षण विभागमा सदस्य थिइन् । उनी काँग्रेसका पुराना नेता गणेशप्रसाद रिजालकी छोरी हुन् ।
सोमबारको मन्त्रिपरिषद् बैठकले अष्ट्रेलियासँगै विभिन्न १८ देशमा राजदूत नियुक्तिको निर्णय पनि गरेको छ । मन्त्रिपरिषद्को निर्णय अनुसार भारतका लागि राजदूतमा शङ्कर शर्मालाई निरन्तरता दिने र अमेरिकाको राजदूतमा लोकदर्शन रेग्मीलाई सिफारिस गर्ने निर्णय भएको छ ।
यस्तै बेलायतमा चन्द्रप्रसाद घिमिरे,चीनमा कृष्णप्रसाद ओली, जर्मनीमा शैल रुपाखेती, साउदी अरबमा नरेशविक्रम ढकाल,
इजरायलमा धनप्रसाद पण्डित, दक्षिण अफ्रिकामा कपिलमान श्रेष्ठ, दक्षिण कोरियामा शिवमाया तुम्बाहाङ्फे, पोर्चुगलमा प्रकाशमणि पौडेलको नाम राजदूतमा सिफारिस भएको छ ।
यस्तै पाकिस्तानमा रिता धिताल, स्पेनमा सनिल नेपाल तथा मलेसियामा नेत्रप्रसाद तिमिल्सिनाको नाम सिफारिस भएको छ ।
सरकारी निर्णयअनुसार चीनसहित पाँच वटा देशबाट राजदूत फिर्ता बोलाइएको छ। यस्तै बैठकले २२ जना सचिवको सरुवाको गर्ने निर्णय समेत गरेको छ ।
यस्तै बैठकले तीन वटा प्रदेशका प्रदेश प्रमुख फिर्ता बोलाउने निर्णय गरेको छ जसमा वाग्मती, लुम्बिनी र कर्णाली प्रदेशका प्रदेश प्रमुखलाई फिर्ता बोलाउने निर्णय भएको हो । वाग्मतीका प्रदेश प्रमुख यादवचन्द्र शर्मा, लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचन र कर्णालीका प्रदेश प्रमुख तिलक परियारलाई फिर्ता बोलाउने निर्णय गरेको बताइएको छ ।
नयाँ निर्णयअनुसार कर्णालीमा यज्ञराज जोशी, लुम्बिनीमा कृष्णबहादुर घर्ती र बागमतीमा दीपकप्रसाद देवकोटालाई चयन गरिएको छ ।
प्रतिक्रिया