सौर्य एयरको विमान दुर्घटनामा १८ जनाको निधन, पाईलटको उपचार हुँदै (नामावलीसहित)

सौर्य एयरको विमान दुर्घटनामा १८ जनाको निधन, पाईलटको उपचार हुँदै (नामावलीसहित)



काठमाडौँ । काठमाडौँबाट पोखराका लागि उडेको जहाज बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रभित्रै दुर्घटना भएको हो । उड्ने बित्तिकै दुर्घटना हुँदा सौर्य एयरलाइन्सको जहाजमा सवार १८ जनाको निधन भएको छ । मृतक सबै जना सौर्य एयरलाइन्सका कर्मचारी हुन् ।

पाइलट मनीष शाक्यको भने केएमसी अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ । अस्पतालका चिकित्सक डा। विशद दाहालले उनको शरीरमा विभिन्न भागमा चोटपटक लाग्नुका साथै मुखबाट रगत आएकाले आकस्मिक उपचार कक्षमा उपचार भइरहेको जानकारी दिएका छन् ।

उनले भने, “शरीरमा जलन छैन तर शरीरका विभिन्न भागमा चोट लाग्नुका साथै मुखबाट पनि रगत बगिरहेकोले हाल अस्पतालको आकस्मिक उपचार उपचार कक्षमा उपचार भइरहेको छ । थप उपचार पछि मात्र कति गम्भीर भन्न सकिन्छ ।”

यस्तै, जहाजमा सवार अन्य १८ यात्रुहरूको शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । बुधबार करिब ११ : ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा रनवेबाट दुर्घटनामा परेको थियो ।

सौर्य एयरको विमान दुर्घटनापछि बन्द भएको  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल झन्डै दुई घण्टापछि पुन: सञ्चालनमा आएको छ । विमानस्थलमा अहिले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान/अवतरण सुरु भएको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले राससलाई जानकारी दिनुभयो ।

काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्ने क्रममा सौर्य एयरको विमान आज बिहान ११ः११ दुर्घटनामा परेपछि दुवैतर्फका उडान/अवतरण बन्द भएको थियो । चालक दलका सदस्यसहित १९ जना यात्री रहेको सो विमान उड्ने क्रममा विमानस्थलको धावनमार्गमा चिप्लिएर दुर्घटनामा परेको विमानस्थल कार्यालयले जनाएको छ ।   सो दुर्घटनामा परी हालसम्म १८ जनाको मृत्यु भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले पुष्टि गरेको छ । विमान चालक मनीषरत्न शाक्यको सिनामङ्गलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ ।