चितवनवासीले जलाए गुगल म्यापको गाडी, रिस थियो रेल्बेको सर्भेसँग

चितवनवासीले जलाए गुगल म्यापको गाडी, रिस थियो रेल्बेको सर्भेसँग


चितवनमा बुधबार दिउँसो भरतपुर महानगरपालिका वडा नम्बर ७ कृष्णपुरमा रेलमार्गका लागि सर्भे गर्न आएको भन्दै स्थानीयले जलाएको गाडी गुगल म्यापको भएको खुलेको छ ।

रेल विभागकाअनुसार पूर्वपश्चिम रेलमार्ग निर्माण गर्नका लागि हेटौंडाबाट चितवन हुँदै नवलपुरसम्मको रेलमार्गको अध्ययन सम्पन्न भइसकेको छ। यहाँ सर्भेका लागि आएको एउटा टोलीलाई केही महिनाअघि स्थानीयबासीले लखेटेका थिए।

स्थानीयले बाक्लो बस्ती भएको ठाउँबाट रेलमार्ग बनाउन नहुने भन्दै विरोध जनाउँदै आएका छन्। उनीहरूले सं‌घर्ष समिति नै बनाएर मन्त्रालयसम्म ध्यानाकर्षण गराउँदै आएका थिए।

त्यसैबीच चितवन भरतपुर महानगर(७ कृष्णपुरमा आर।एस इन्जिनियरिङ सोलुशन प्रालि काठमाडौंको टोली पुगेको थियो।

प्रस्तावित रेलमार्ग प्रभावित संघर्ष समितिका सदस्यहरूले उनीहरू रेलमार्गको सर्भे गर्न आइपुगेको भनेर नियन्त्रणमा लिए। नियन्त्रणमा लिएर दिउँसोसम्ममा बागमती प्रदेश ०१–०३० च ७१९० नम्बरको कार समेत जलाइदिए।

पछि गाडी जलेपछि पीडित भएका व्यक्तिहरू अर्कै कामले त्यहाँ पुगेको खुलेको हो।

चितवनका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले उनीहरू गुगल म्यापको सर्भेका लागि त्यहाँ पुगेको बताए।