काठमाडौँ ।
नारायणगढ–मुग्लिन सडकखण्डको सिमतालमा पहिरोले दुई वटा यात्रु बस बगाएको घटनाप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुःख व्यक्त गर्दै खोज र उद्धारमा खटिन सरकारका सबै निकायहरुलाई निर्देशन दिएका छन् ।
शुक्रबार बिहान भएको घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री दाहालले घटनामा बेपत्ता यात्रुहरूको खोजी एवं प्रभावकारी उद्धारका लागि गृह प्रशासनलगायत सरकारका सबै निकायलाई निर्देशन दिएका हुन् ।
‘झण्डै पाँच दर्जन यात्रु बेपत्ता एवं देशका विभिन्न भागमा बाढी पहिरोका कारण भएको धनजनको क्षतिप्रति गहिरो दुख व्यक्त गर्दछु । बेपत्ता यात्रुहरूको खोजी एवं प्रभावकारी उद्धारका लागि गृह प्रशासनलगायत सरकारका सबै निकायलाई निर्देशित गर्दछु । साथै मौसम सक्रिय रहेकाले उच्च सतर्कताका साथ विपद् व्यवस्थापन र जोखिम न्यूनिकरण सम्बन्धी पूर्वतयारी व्यवस्थित तुल्याउन, उद्धार र रातमा आवश्यक सहकार्य र समन्वयका लागि सङ्घीय, प्रादेशिक र स्थानीय सरकारलाई हार्दिक अपील गर्दछु ।’ दाहालले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
चितवनको भरतपुर महानगरपालिका २९ सिमलतालमा पहिरोले दुई वटा यात्रु बस बगाउँदा ६५ जना यात्रुको अवस्था अज्ञात छ । घटनामा बेपत्ताको खोजकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रतिक्रिया