राप्रपा र जनमत पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने

राप्रपा र जनमत पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने


काठमाडौँ । जनमत पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिने भएको छ । पार्टीको बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने निर्णय गरेको सो पार्टीका प्रवक्ता डा।शरदसिंह यादवले जानकारी दिए ।

प्रधानमन्त्री दाहालले भोलि प्रतिनिधि सभामा विश्वासको मत लिने कार्यसूची छ । जनमत पार्टीको प्रतिनिधिसभामा ६ सांसद छन्। जनमतले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बिच भएको समझदारीअनुरूप नयाँ गठन हुने सरकारलाई समर्थन गर्ने समेत निर्णय पनि गरेको छ। “प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारलाई हामी (पार्टी) विश्वासको मत दिदैनौँ, अब बन्ने नयाँ गठबन्धनलाई समर्थन गरेर जाने निर्णय भएको छ”, प्रवक्ता यादवले भने । उनले कांग्रेस र एमालेबिचको नयाँ गठबन्धनले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वको सरकारलाई स्वीकार गरेकाले नयाँ बन्ने सङ्घीय सरकारको नेतृत्वलाई स्विकार्ने निर्णय भएको बताए।

राप्रपाले पनि विश्वासको मत नदिने
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने निर्णय गरेको छ। सो पार्टीको आज भएको संसदीय दलको बैठकले प्रधानमन्त्री दाहालले मागेको विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय भएको सो पार्टीका प्रवक्ता मोहन श्रेष्ठले बताए।