रवि लामिछानेको क्लबले रास्वपा कब्जा गर्याे : मुकुल ढकाल

रवि लामिछानेको क्लबले रास्वपा कब्जा गर्याे : मुकुल ढकाल


काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट कारबाहीमा परेका मुकुल ढकालले पार्टी पार्टी सभापति रवि लामिछानेको क्लबमा परिणत भएको आरोप लगाएका छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले सभापति लामिछानेको गल्तीको दोष अरूलाई थोपर्ने क्रममा आफू पनि सिकार भएको बताए।

उनले भने, ‘रविले पार्टीलाई क्लब जसरी चलाए । पार्टी रवि लामिछाने क्लबका रूपमा हाई ज्याक भएको छ, रास्वपामा अनुशासन आयोगमाथि प्रतिवेदनमै प्रश्न उठाइएको छ । अनुशासन आयोगमाथि प्रश्न उठाइसकेको थिएँ मैले । त्यसैले उसको भूमिकामा शङ्का भएकाले मान्नुपर्ने अवस्था थिएन।’

साथै, उनले आफू रास्वपाको महामन्त्री र प्रवक्ताबाट निलम्बित नभएको दाबी गरे । ढकालले भने, ‘म अहिले पनि राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री र प्रवक्ताबाट निलम्बित भएको छैन, म केबल रविको क्लबबाट मात्रै निक्लिएको हो । म बलजफती गरेर महामन्त्रीको कुर्सीमा बस्न जाँदिन । तर रवि लामिछानेका कारण पार्टी सकिने दिशातिर गयो, मेरो चिन्ता यति मात्रै हो ।’

लामिछानेले आफ्नो गल्ती सबै अरूमा थोपार्ने काम मात्र गर्दै आएको पनि उनको आरोप छ । उनले भने, ‘ग्यालेक्सी टेलिभिजनमा गल्ती जिबीले गरे रविले गरेनन् । अहिले रास्वपामा पनि महामन्त्रीले गल्ती गरे उहाँले गल्ती गर्नु भएन, रवि लामिछानेले यो देशको सबैभन्दा सफल गृहमन्त्री भएँ भन्नु भयो । तर उहाँले आफ्ना गल्ती सबै अरूलाई थोपर्नु भयो ।’