मनसुनी वर्षासँगै आएको बाढी-पहिरो : १९ सडकखण्ड अवरुद्ध, ९८ करोडको क्षति

मनसुनी वर्षासँगै आएको बाढी-पहिरो : १९ सडकखण्ड अवरुद्ध, ९८ करोडको क्षति


काठमाडौं ।

गत शुक्रबारदेखि सोमबारसम्मको अरिवरल वर्षाका कारण आएको बाढी र पहिरोका कारण विभिन्न १९ ठाउँका सडक पूर्ण रुपमा अवरुद्ध भएका छन् ।

सडक विभागको रिपोर्ट अनुसार, संखुवासभा, लमजुङ्, गुल्मी, स्याङ्जा, सिन्धुपालचोक, कालिकोट, सिन्धुली, धनकुटा, बागलुङ, डोटी, दाङको विभिन्न सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएका हुन् । यस्तै ११० ठाउँका सडक एकतर्फी रुपमा सञ्चालनमा छन् ।

सडक विभागकाअनुसार यो वर्ष मनसुन सुरुभएदेखि अहिलेसम्म सडक क्षेत्रमा ९८ करोडभन्दा बढीको क्षति भएको छ । बाढी, पहिरो र डुबानले सडक अवरुद्ध हुँदा कतिपय ठाउँमा यात्रु बाटोमै अलपत्र परिरहेका छन् ।

यो वर्षको मनसुन सुरु भए यता बाढी, पहिरो लगायतका विपद्मा ७४ जनाको मृत्यु भएको छ। यो अवधिमा गण्डकी प्रदेशमा २२ जना, कोशी र लुम्बिनी प्रदेशमा १८-१८ जना, बागमती, सुदूरपश्चिम र कर्णाली प्रदेशमा ४-४ जना र मधेश प्रदेशमा ३ जनाको मृत्यु भएको छ ।

विपदमा ५ जना बेपत्ता भएका छन् भने ८८ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपदमा परेर अहिलेसम्म दुई हजार दुई सय ९६ परिवार विस्थापित भएका छन् ।