मेघालयमा ४ नेपालीको बीभत्स हत्या

मेघालयमा ४ नेपालीको बीभत्स हत्या


काठमाडौँ ।

रोजगारीका लागि भारतको मेघालय पुगेका चार जना नेपालीको घाँटी रेटेर बीभत्स हत्या भएको छ। मृतकमध्ये हालसम्म एक जनाको मात्र पहिचान खुलेको र उनी इलामका २३ वर्षीय रवि राई रहेको तथा अन्य तीन जनाको परिचय खुल्न बाँकी रहेको स्थानीय प्रहरी प्रशासनले जनाएको छ।

मेघालयको पूर्वी जयन्तिया हिल्स जिल्लाका प्रहरी उपरीक्षकका अनुसार बीभत्स हत्या गरिएको घटनाबारे विषेश अनुसन्धान टोलीले छानबिन सुरु गरेको छ। मेघालय प्रहरीले घटनास्थलमा क्राइम स्क्यान युनिट, मोबाइल फरेन्सिक युनिट, घटनास्थलबाट फेला परेका प्रमाणसहित स्थानीयसँग सोधपुछ गरिरहेको जनाएको छ। कोइलाखानीमा काम गर्ने अन्य नेपाली मजदुर र उनका परिवारमार्फत पनि शवको पहिचानको प्रयास गरिरहेको प्रहरीले जनाएको छ।

घटनाको प्रारम्भिक अनुसन्धानमा हत्यामा आपराधिक समूहको संलग्ना देखिएको प्रहरीले जनाएको छ । चारै जनाको शव पोस्टमार्टमका लागि प्रहरीले स्थानीय सिभिल अस्पतालमा लगेको जनाएको छ । हत्या गरिएकामध्ये अन्य तीन जनासमेत धरान–भोजपुर क्षेत्रका नेपाली हुन सक्ने अनुमान मेघालय प्रहरीले गरेको जनाएको छ ।