नेपाली सोसाइटी अफ तास्मानियाको नयाँ कार्यसमितिमा महिलाको वर्चस्व, कुन पदमा को भए निर्वाचित ? 

नेपाली सोसाइटी अफ तास्मानियाको नयाँ कार्यसमितिमा महिलाको वर्चस्व, कुन पदमा को भए निर्वाचित ? 


होबार्ट, अष्ट्रेलिया ।

नेपाली सोसाइटी अफ तास्मानिया (नेस्ट) अध्यक्षमा रोजिना ताम्राकार चयन भएकी छन्। शनिवार मुना आर्ट सेन्टर मुनामा भएको नेस्टको साधारण सभाले रोजिना ताम्राकारलाई सर्वसम्मतिले अध्यक्षमा निर्वाचित गरेको हो। 

महिलाको वर्चस्व रहेको सोसाईटीको नयाँ कार्यसमितिको उपाध्यक्षमा निर्मल अर्याल, सचिवमा दिक्ष्या बस्नेत र कोषाध्यक्षमा रविना थापा रहेका छन्। यस्तै सदस्यमा नसना बद्यकार, मनोज घले, जोसन थापा, समिता शर्मा चयन भएका छन्। बाँकी एक जना सदस्य भने नयाँ कार्यसमितिको पहिलो बैठकले नियुक्ति गर्ने छ। संस्थाको नयाँ कार्यसमिति चयन गर्न अनिल श्रेष्ठको अध्यक्षतामा तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो। निर्वाचन समितिको सदस्यमा उमेश सुनाचरी र कमल भण्डारी रहेका थिए।   

उक्त साधारण सभामा सोसाईटीका निवर्तमान अध्यक्ष संसारराज चिमोरियाले वार्षिक प्रतिवेदन पेस गरेका थिए भने कोषाध्यक्ष निर्मला अर्यालले वार्षिक आय व्यय प्रस्तुत गरेकी थिइन्। कार्यक्रममा संस्थालाई सहयोग गर्ने स्पोन्सर, सामुदायिक संस्था, सयंम सेवक, मिडिया पार्टनर र फोटोग्राफरलाई प्रमाणपत्र दिएर सम्मान गरिएको थियो। 

नेपाली सोसाइटी अफ तास्मानियाको साधारण सभामा तास्मानिया राज्यका सांसद् जोश विले, माइग्रेन्ट रिसोर्स सेन्टर तास्मानियाका सिईओ गिलियन लङ्ग, एन्टी डिस्क्रिमिनेसन कमिस्नर सारा बोल्ट, एमसीओटीबाट ली विल्सनलगायत तास्मानियामा रहेका बहुसंस्कृतिक समाजका अगुवाहरूको सहभागिता रहेको थियो। उनीहरूले नेपाली सोसाईटीले विगतमा गरेका कामको मुक्तकण्ठले प्रशंसा गरेका थिए। संस्थालाई आवश्यक पर्दा सधैँ सहयोग गर्ने प्रतिबद्धता समेत गरेका थिए। 

सन २०१२ मा स्थापना भएको नेस्टले तास्मानियामा बढ्दै गरेको नेपाली समुदायको हक हितका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ। सोसाईटीले तास्मानियामा हुर्किँदै गरेको पछिल्लो पुस्तालाई नेपाली भाषा, कला संस्कृतिका बारेमा जानकारी दिन नेपाली पाठशाला संचालन गरेको छ।