लियान जोन्स्टन नेपालका लागि नयाँ अष्ट्रेलियन राजदूत नियुक्त

लियान जोन्स्टन नेपालका लागि नयाँ अष्ट्रेलियन राजदूत नियुक्त


मेलबर्न, अष्ट्रेलिया ।

अष्ट्रेलियाकी विदेशमन्त्री पेनी वाङले नेपालका लागि अष्ट्रेलियन राजदूतको रुपमा लियान जोन्स्टनलाई नियुक्त गरेकी छिन् । एक विज्ञप्तिमार्फत विदेशमन्त्री वाङले जोन्स्टनलाई नेपालको राजदूत नियुक्त गरेको जानकारी दिएकी हुन् । राजदूतको रुपमा नेपाल आउन लागेकी जोन्स्टन करिअर डिप्लोम्याट हुन् ।

उनी यसअघि नाईजेरियाको अबुजामा कार्यावाहक अष्ट्रेलियन उच्चायुक्त थिइन् । उनले त्यसअघि फिजी, फ्रान्स, स्पेन, अफगानिस्तान, केन्या, स्वीडेन, जर्मनी, टर्की र न्यूजिल्याण्डमा समेत काम गरिसकेकी छिन् ।

सन् २०२१ मा फेलिसिटी भोल्कलाई अष्ट्रेलियाले राजदूतको रुपमा नेपाल पठाएको थियो । उनले नेपाल र अष्ट्रेलियाको सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् । यहीबीचमा अष्ट्रेलियाबाट उपविदेशमन्त्रीस्तरीय भ्रमण भएको थियो । उपविदेशमन्त्री टिम वाट्सले गरेको भ्रमण दुई दशकभित्र भएको उच्चस्तरीय भ्रमण थियो । यसपछि अष्ट्रेलियाको संघीय संसदका सभामुख मिल्टन डिकले पनि नेपालको भ्रमण गरेका थिए ।

नेपाल र अष्ट्रेलियाबीचको सम्बन्धलाई शान्तिपूर्ण, सम्बृद्ध बनाउने दिशामा अघि बढेको भन्दै विदेशमन्त्रीले विज्ञप्तिमा हालै पर्थमा सम्पनन भएको बैठकमा गरिएको ट्रेड एण्ड ईन्भेष्टमेन्ट फ्रेमवर्क एरेन्जमेन्ट अर्थात् टिफा सम्झौता भएको समेत उल्लेख गरेकी छिन् ।
यस्तै मन्त्री वाङले नेपाल दक्षिण एशियामै दोश्रो ठूलो व्यापारिक साझेदार रहेको भन्दै सन् २०२३ मा मत्र ४ दशमलब ६ विलियन डगलरको व्यापार गरेको र यो अघिल्लो वर्षको भन्दा ५६ प्रतिशत बढी भएको समेत उल्लेख गरेकी छिन् । अष्ट्रेलियाको निर्यातबजारको उच्च २० राष्ट्रमा नेपाल समेत रहेको उनले बताएकी छिन् ।

विज्ञप्तिमा अष्ट्रेलियामा रहेका डेढलाख भन्दा बढी नेपाली मूलका नागरिक बसोबास गर्ने पनि उनले छुटाएकी छैनन् । नेपाली समूदायको योगदान अष्ट्रेलियाको अर्थतन्त्रमा उच्च रहेको उनको भनाई छ ।