रास्वपाका मन्त्रीहरुले तत्काल राजीनामा नदिने, प्रचण्डलाई सघाउने

रास्वपाका मन्त्रीहरुले तत्काल राजीनामा नदिने, प्रचण्डलाई सघाउने


काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले तत्कालका लागि सरकारबाट नबाहिरिने बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई छिटो विश्वासको मत लिन सुझाव दिएको पनि उनले बताए।

विहीबार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा भएको छलफल पश्चात उनले प्रधानमन्त्रीले आफ्नो अधिकार प्रयोग गर्ने कुरालाई समारात्मक रुपमा लिएको भन्दै विश्वासको मत लिने समयसम्म साथ दिने बताए ।

उनले भने, ‘जस्तो अवस्थामा अर्को गठबन्धन बनाइएको छ त्यो खासै विश्वास गर्न लायकको छैन् । अहिले लोकतान्त्रिक विधि र पद्धतीमा संसदीय व्यवस्थालाई सम्मान गर्ने हो । अहिले जे अवस्था बनेको छ, त्यसमा राजीनामा दिने निर्णय नै हो । तर हिजोको साझेदारी मात्र होइन धेरै मुद्दमम एकै ठाँउमा थियौं ।

प्रधानमन्त्रीले आफ्नो अधिकार प्रयोग गर्छु भन्दा हामीले त्यसलाई समारात्मक रुपमा लिनुपर्छ र यो काममा धेरै ढिला गर्नु हुदैँन् । त्यतिबेलासम्म हामी तपाइँलाई साथ दिन्छौ भनेर भनेका छौ ।’

प्रधानमन्त्रीले संसदलाई फेस गरेर जवाफ दिने समयसम्म साथ आवश्यक रहेको जनाएपछि छिटोभन्दा छिटो संसद फेस गर्न आफूहरुले सुझाव दिएको उनले बताए ।

उनले भने, ‘राजनीतिक घटनाक्रम जसरी बढेको छ त्यसमा मैले आफ्नो संवैधानिक अधिकारको प्रयोग गर्छु । संसदलाई फेस गर्छु । किनभने मैंले संसदलाई जवाफ दिनुपर्छ । त्यो समयमा मलाई तपाईहरुले साथ दिनुपर्छ भने प्रधानमन्त्रीज्यूले भन्नुभाये । जतिसक्दो छिटो संसदलाई फेस गर्ने काम मिलाउनु होला भन्यौं । यसबारेमा पार्टीमा आन्तरिक छलफल गर्छौ र जानकारी दिन्छौ भनेर हामी निस्किएका हौं ।’

उनीहरु रास्वपाको तर्फबाट सरकारमा भाग लिएका मन्त्रीहरुको राजीनामा दिन भनेर प्रधानमन्त्री निवास पुगेका थिए ।