काठमाडौँ ।
नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा नदिने निर्णय गरेको छ। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी पदाधिकारीको बैठकले राजीनामा नदिई विश्वासको मतको सामना गर्ने निर्णय गरेको पार्टीका सचिव देवेन्द्र पौडेलले जानकारी दिए।
उनले भने, ‘बैठकमा प्रधानमन्त्रीले राजीनामा नदिने विश्वासको मतको रुपमा तयार रहने निर्णय भएको छ । किनभने एक महिना बाँकी रहन्छ, प्रतिवाद गर्ने । यो रातारात भएको सहमति कसरी भयो, किन भयो ? अब प्रधानमन्त्रीले गलेर छाड्ने कुरा भएन्, गणित देखाउने हो । संसदमा पेश गर्ने र विश्वासको मत लिने गरेर अगाडि बढ्ने कुरामा प्रधानमन्त्रीले धारणा बनाउनु भएको छ । पार्टीको तर्फबाट पनि सबैको एकमत रहेको छ । विश्वासको मतको सामना गर्ने र विभिन्न पक्षहरुसँग कुराकानी गर्ने र अगाडि बढ्ने कुरा भएको छ ।’
एमालेका अध्यक्ष ओलीसँगको भेटमा एक खालको कुरा भएको तर राति नै गएर सहमति गर्नु भनेको षड्यन्त्र भएको उनको भनाइ छ । सहमतिको प्रतिवाद गर्ने निर्णय गरेको पनि उनले बताए ।
उनले भने, ‘प्रधानमन्त्रीसँग एमालेका अध्यक्षले हिजो कुरा भएको थियो । जस्ताको त्यस्तै भनिदिएको भए हुन्थ्यो । तर उहाँले केही पनि भएको छैन् भन्दै आउनुभयो । हामीले मिलेर जाने भनेर भन्दै आएको अवस्थामा राति जुन प्रकारको सहमति भयो त्यसले एकप्रकारको राजनीतिमा अस्थिरता आएको छ । यो षड्यन्त्र हो । यसको प्रतिवाद गर्ने भन्ने विषयमा छलफल भएको छ ।’
दुई दल बसेर गरेको सहमतिमा अन्य पार्टीको धारणा नभएको भन्दै यसलाई राष्ट्रिय सहमति भन्न नमिल्ने पनि उनको भनाई छ।
प्रतिक्रिया