दक्षिण अफ्रिका पहिलो पटक टी–ट्वेन्टी विश्वकपको फाइनलमा

दक्षिण अफ्रिका पहिलो पटक टी–ट्वेन्टी विश्वकपको फाइनलमा


काठमाडौँ ।

दक्षिण अफ्रिका आईसीसी टी २० विश्वकपको फाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ। वेस्टइन्डिजमा आज भएको पहिलो सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।

अफगानिस्तानले दिएको जम्मा ५७ रनको लक्ष्य दक्षिण अफ्रिकाले ८.५ ओभरमा पूरा गरेको थियो। टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ११।५ ओभरमा सबै विकेट गुमाएर ५६ रनमात्रै बनायो।

समूह चरणदेखि सुपर ८ सम्म उत्कृष्ट प्रदर्शन गरेको अफगानस्तिानको सेमिफाइनलमा ब्याटिङ नै चलेन। अफगानिस्तानका रमनुल्लाह गुर्वाज खाता नै नखोलेर आउट भएका थिए। त्यसलगत्तै गुलबद्दिन नइब ९ रन बनाएर आउट हुँदा अफगानिस्तानले १६ रनको स्कोरमा २ विकेट गुमाउन पुग्यो।

तेस्रो विकेटको रुपमा ओपनर इब्राहिम जर्दानलाई गुमायो। जर्दान २ रन बनाएर आउट हुँदा अफगानिस्तानले २० रन बनाएको थियो।

सोही स्कोरमा मोहमद नावी खाता नखोलेर आउट भए। २३ रनको स्कोरमा अफगानिस्तानले पाँचौं विकेट गुमाएको हो। अफगानिस्तानका नानगेलिया खरोटे २ रन बनाएर आउट भए। पावर प्लेको समाप्तीमा अफगानिस्तानले ५ विकेट गुमाएर २८ रन बनाएको थियो।

छैटौं विकेटको रुपमा अज्मतुल्लाह ओमरजाईले सर्वाधिक १० रन बनाए। ५० रनको स्कोरमा सातौं विकेट गुमाउँदा करिम जनतले ८ रनको योगदान गरे। यसैगरी १०.२ ओभरमा कप्तान रासिद खान पनि ८ रन बनाएर नवौं विकेटको रुपमा पभेलियन फर्किए। ११.५ ओभरमा ५६ रन हुँदा नभिन उल हक २ रन बनाएर आउट हुँदा अफगानिस्तान अलआउट भयो। फजलहक फारुकी २ रनमा नटआउट रहे।

दक्षिण अफ्रिकाका मार्को जेनसेनले ३ ओभरमा १६ रन खर्चिएर ३ विकेट लिए। यसैगरी तबरेज शम्सीले १।५ ओभरमा ६ रन दिएर ३ विकेट लिए। कागिसो रबाडाले ३ ओभर बलिङ गर्दा १ ओभर मेडन राखेर १४ रन खर्चिदै २ विकेट लिँदा एनरिच नोट्जेले ३ ओभरमा ७ रन खर्चिएर २ विकेट लिए।

५७ रनको सामान्य लक्ष्य पछ्याउँदा दक्षिण अफ्रिकाको सुरुआत भने राम्रो रहेन। जारी विश्वकपमा राम्रै प्रदर्शन गरेका क्विन्टन डी कक फ्लप भए। उनी ५ रन बनाएर आउट भएका थिए। त्यसपछि रिजा हेनरिक र कप्तान एडेन मार्करमले पारि सम्हाल्दै दक्षिण अफ्रिकालाई ८.५ ओभरमा जिताए।

रिजाले २५ बलमा २९ रनको नटआउट पारि खेल्दा मार्करमले २१ बलमा २३ रनको नटआउट पारि खेले। फजलहक फारुकीले १ विकेट लिए। दक्षिण अफ्रिकाले अब फाइनलमा भारत र इंग्ल्याण्डबीचको विजेतासँग प्रतिस्पर्धा गर्ने छ।