ज्ञानेद्र शाहीलाई प्रचण्डको जवाफ : ‘तपाईं प्रधानमन्त्री भएको दिन हेरौला कति काम गर्नुहुन्छ’

ज्ञानेद्र शाहीलाई प्रचण्डको जवाफ : ‘तपाईं प्रधानमन्त्री भएको दिन हेरौला कति काम गर्नुहुन्छ’


काठमाडौँ ।

प्रतिनिधि सभा बैठकमा मंगलबार भएको प्रश्नोत्तरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रश्नकर्तालाई नेपालमा प्रचण्ड भन्ने मान्छे प्रधानमन्त्री भएको जवाफ फर्काएका छन् ।

राप्रपाका सांसद ज्ञानेद्र शाहीले ‘नेपालमा प्रधानमन्त्री छ कि छैन ? रुसी सेनामा भर्ना भएका नागरिक ल्याउन सरकारले के पहल गरिरहेको छ ?’ भनेर सोधेको प्रश्नमा उनले यस्तो जवाफ फर्काएका हुन् ।

परराष्ट्र मन्त्रालयको बजेटमाथि उठेका प्रश्नहरुको उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिनुपर्ने थियो। तर उनी विदेश भ्रमणमा रहेका कारण प्रधानमन्त्री प्रचण्ड आफैं जवाफ दिन गए। उनको जवाफपछि सांसदहरुले पूरक प्रश्न सोधे।

सो क्रममा आफैंमाथि प्रश्न उठेपछि प्रधानमन्त्री प्रचण्डले जवाफ दिने क्रममा ‘यहाँ हुनुहुन्छ कि हुनुहन्न ?’ भनेर प्रश्नकर्तालाई खोजे। विपक्षी बेञ्चमा रहेका शाहीले हात उठाएर आफू संसदमै रहेको संकेत दिएपछि प्रचण्डले भने, ‘नेपालमा प्रधानमन्त्री छ, त्यो पनि अहिले प्रचण्ड भन्ने मान्छे प्रधानमन्त्री छ।’

नेपाली नागरिक सरकारले पठाएर रुसी सेनामा नगएको भए पनि नेपाली नागरिक रुसी सेनामा जानु र युद्धमा मारिनु दुःखद भएको उनको भनाई छ।

रुसी सेनामा भर्ना भएकाहरुसँग समेत राय लिएको दाबी गर्दै उनले भने, ‘अझ जोड दिएर भन्न चाहन्छु, प्रचण्ड भएको हुनाले भन्न चाहन्छु राति १२ बजे रुसी सेनाको लडाइँ मोर्चामा भएकाहरुसँग फोनमा कुरा गर्ने गरेको छु।’

साथै, उनले प्रश्नकर्ता तर्फ लक्षित गर्दै भने, ‘तपाईं कुनै दिन प्रधानमन्त्री हुनु भएछ भने तपाईंले कति गर्नुहुन्छ म पनि हेर्न चाहन्छु।’