जाजरकोटमा बाढीले शिक्षकको मृत्यु

जाजरकोटमा बाढीले शिक्षकको मृत्यु


काठमाडौं । जाजरकोटमा बाढीले बगाउँदा एक जना शिक्षकको मृत्यु भएको छ। शनिबार राति तारेचौर खोलामा एक्कासि आएको बाढीले बगाउँदा कुशे गाउँपालिकाको वडा नम्बर ९ पैंकका ईन्द्र बहादुर रोकायाको मृत्यु भएको गाउँपालिका उपाध्यक्ष देविका कुमारी सिंहले जानकारी दिइन्।

‘उहाँको हिजो राती नै निधन भैसकेको रहेछ। अहिले पोस्ट मार्टमको लागि लैजाने तयारी भैरहेको छ’ उपाध्यक्ष सिंहले भनिन्। उनका अनुसार शनिबार राती ११ बजेतिर खोलामा एक्कासी आएको बाढीले माछा मार्न अन्य गएका ६ जनालाई पनि बगाएको थियो।

बाढीमा परी कुशे गाउँपालिकाका राजेन्द्रबहादुर शाही, पृथ्वीबहादुर शाही, खिमबहादुर शाही, जीवन जैसी, कुशे–१, तारेचौरका गोविन्द रावत र दीपेन्द्रबहादुर चलाउने सामान्य घाइते भएको उपाध्यक्ष सिंहले बताइन्।

तर अन्यले पौडिएर ज्यान जोगाए पनि ३९ वर्षीय रोकाया भने मृत भेटिएका हुन्। रोकाया गाउँपालिकाकै वडा नम्बर–४मा रहेको मालटाकुरा माध्यामिक विद्यालयका अंग्रेजी शिक्षक हुन्।