अष्ट्रेलियाका दुई राज्यमा वाणिज्यदूत नियुक्त, न्यूसाउथवेल्सका लागि शर्मा र भिक्टोरियामा गौली

अष्ट्रेलियाका दुई राज्यमा वाणिज्यदूत नियुक्त, न्यूसाउथवेल्सका लागि शर्मा र भिक्टोरियामा गौली



काठमाडौं ।
नेपाल सरकारले अष्ट्रेलियाका दुई राज्यमा वाणिज्यदूतको नियुक्ति गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले अष्ट्रेलियाको न्यूसाउथवेल्स राज्यका लागि सञ्जिव शर्मालाई र भिक्टोरिया राज्यका लागि निराजन गौलीलाई वाणिज्यदूत बनाउने निर्णय गरेको हो ।

वाणिज्यदूत नियुक्तिका लागि यसअघि परराष्ट्र मन्त्रालयले अष्ट्रेलियामा विभिन्न तीन राज्यका लागि विभिन्न व्यक्तिको सिफारिश पठाएको थियो । जसमध्ये न्यूसाउथवेल्सका लागि शर्मा र भिक्टोरियाका लागि गौलीको नाम यहाँको परराष्ट्र मन्त्रालयबाट स्वीकृत भएपछि मन्त्रिपरिषद्बाट वाणिज्यदूत नियुक्त गरिएको हो ।

पछिल्लो चार वर्षे कार्यकाल सकिनुअघि नै न्यूसाउथवेल्स राज्यका महावाणिज्यदूत दिपक खड्काले आफ्नो व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएका थिए भने भिक्टोरियामा कार्यकाल सकिएपछि पूर्वमहावाणिज्यदूत चन्द्र योन्जन कार्यवाहक तोकिएका थिए ।

को हुन् शर्मा र गौली ?

नेपाल सरकारले न्यूसाउथवेल्स राज्यका लागि नियुक्त गरेका वाणिज्यदूत सञ्जिव शर्मा एक्सपर्ट ग्रुपका निर्देशक हुन् । यसका साथै ग्रुपले अष्ट्रेलियामा कलेज सञ्चालन गर्दै आएको छ । एक्सपर्ट ग्रुपले नेपालको हाईड्रोपावर क्षेत्रमा पनि लगानी गरेको छ । १० अर्बभन्दा बढीको लगानीमा नेपालको कर्णाली क्षेत्रमा एक्सपर्टको हाईड्रोपावर योजना निर्माणाधीन छ । यस्तै हालै रारा क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्ने योजना पनि एक्सपर्टले सार्वजनिक गरेको छ । स्थानीय साझेदारसँग सहकार्य गर्दै एक्सपर्टले रिसोर्ट खोल्न लागेको हो ।

उता भिक्टोरियाका लागि वाणिज्यदूत तोकिएका निराजन गौली पेशाले ईन्जिनियर हुन् । केही समय अघिसम्म अष्ट्रेलियाको काउन्सिलहरुमा काम गरिरहेका उनले वाणिज्यदूत नियुक्तिका लागि उक्त जिम्मेवारीबाट राजीनामा दिएका हुन् । गौलीको अगुवाईमा अष्ट्रेलिया नेपाल पब्लिक ईंक नामक संस्थाले विभिन्न तालिम सञ्चालन गर्दै आएको छ । मानसिक स्वास्थ्य र सडक सुरक्षाको क्षेत्रमा यसले नवआगन्तुकहरुको लागि तालिम दिँदै आएको हो । उनले सन् २०२१ मा एनआरएन अष्ट्रेलियाको कम्युनिटी लिटर एवार्ड समेत प्राप्त गरेका थिए ।

केविसीखबरसँग कुरा गर्दै न्यूसाउथवेल्सका लागि वाणिज्यदूत तोकिएका सञ्जिव शर्माले औपचारिक प्रक्रियाहरु पूरा भएसँगै कार्यालय स्थापना गरेर सेवा प्रदान गर्ने जानकारी दिए । उनले भने, केही साता समय लाग्नसक्छ । यहाँको डिफ्याटले परिचयपत्र र नियुक्तिको अन्य प्रक्रिया पूरा गरेसँगै यो निर्णय कार्यान्वयनमा जानेछ । समूदायसँग सहकार्य गर्दै अघि बढ्न प्रतिबद्ध छु ।

भिक्टोरियाका लागि वाणिज्यदूत तोकिएको गौलीले पनि समूदायको सल्लाह, सुझावका आधारमा आफु अघि बढ्ने जानकारी दिए ।

सञ्जालमा शुभकामनाको ओइरो

शुक्रबार नेपालको मन्त्रिपरिषद्ले नियुक्त गरेका शर्मा र गौली यी राज्यका लागि अवैतनिक वाणिज्यदूत हुन् । सामाजिक सञ्जालमा महावाणिज्यदूत, कन्सुलेट जनरल वा राजदूत भनेर शुभकामना दिने क्रम देखिएको छ । तर, अष्ट्रेलियाले हालै गरेको निर्णय अनुसार अब कुनैपनि देशबाट यहाँका विभिन्न शहरमा कन्सुलर सेवा दिने अवैतनिक अधिकारीहरुलाई कन्सुलर मात्र भन्ने निर्णय भएसँगै दिपक खड्का र चन्द्र योन्जन नै अन्तिम महावाणिज्यदूत हुने भएका छन् । यसअघि साउथ अष्ट्रेलियामा दिपक धमला वाणिज्यदूत नै तोकिएका थिए ।

नेपालीमा वाणिज्यदूत र अंग्रेजीमा कन्सुल यो पदको नाम हो । तर, मानिसहरुले सामाजिक सञ्जालमा शुभकामना दिँदा नबुझिकनै ‘राजदूत’, ‘महावाणिज्यदूत’ जस्ता पदावली प्रयोग गरेको भेटिएको छ । कन्सुलरको काम आफुलाई तोकिएको क्षेत्रमा रहेका नेपाली व्यापारी, व्यवसायीहरुको हकहितमा काम गर्ने, दूतावासले खटाए बमोजिम विभिन्न कार्यक्रमहरुमा प्रतिनिधित्व गर्ने र दूतावासलाई सहयोग पुग्नेगरी कन्सुलर सेवा प्रदान गर्ने कार्यक्षेत्र तोकिएको हुन्छ । वाणिज्यदूत पद अवैतनिक अर्थात् स्वयंसेवी पद हो ।

शुक्रबारकै मन्त्रिपरिषद बैठकले विभिन्न ८ देशका लागि नयाँ राजदूतको नाम समेत सिफारिश गरेको छ । यी राजदूतहरुको संसदीय सुनवाई पछि नियुक्ति हुनेछ । भारतका लागि पूर्व मुख्यसचिव लोकदर्शन रेग्मी, अमेरिकाका लागि पूर्वसचिव चन्द्र घिमिरे, बेलायतका लागि डा. विजन पन्त, दक्षिण कोरियाका लागि सुशील प्याकुरेल, डेनमार्कका लागि सुम्निमा तुलाधर, स्पेनका लागि पुष्पराज रन्जितकार, मलेसियाका लागि नेत्रप्रसाद तिमल्सिना र साउदी अरबका लागि अबुसुफ्यान खान मुसलमानलाई राजदूत नियुक्तिका लागि सिफारिस गरिएको हो ।