सिड्नी, अष्ट्रेलिया । हालै सिड्नीमा आफ्नो कार्यालय सञ्चालन गरेको एनआरएन अष्ट्रेलियाले न्यूसाउथवेल्स सरकारबाट प्रतिबद्धता व्यक्त गरिएको तर प्राप्त गर्न बाँकी रहेको एक लाख डलरको अनुदान सहयोग सोमबार प्राप्त गरेको छ । गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको कार्यालय उद्घाटन कार्यक्रममा बिहीबार प्रिमियर क्रिस मिन्स सहभागी भएका थिए । उनले एनआरएनले गर्दै आएका कार्यहरुबारे जानकारी प्राप्त गरेपछि सहयोग छिट्टै प्राप्त हुने विश्वास व्यक्त गरेका थिए ।
एनआरएन अष्ट्रेलियाका प्रवक्ता बबिन मिश्रका अनुसार न्यूसाउथवेल्सका बहुसंस्कृति मन्त्री स्टीभ काम्परले एक पत्र पठाउँदै मेरिल्याण्डमा हालै किनिएको कार्यालय भवनबाट विभिन्न बहुसांस्कृतिक गतिविधि सञ्चालन हुने अपेक्षा गर्दै बधाई दिएको बताएका छन् । प्रवक्ता मिश्रले एनआरएन अष्ट्रेलियाको तर्फबाट न्यूसाउथवेल्स सरकार, बहुसंस्कृतिक न्यूसाउथवेल्सलाई यो सहयोगका लागि धन्यवाद ज्ञापन गरिएको बताएका छन् ।
प्रतिक्रिया